अग्लाभन्दा होचा पुरुष बढी ‘रोमान्टिक’ ? अध्ययनले खोल्यो यस्तो रहस्य

अग्लाभन्दा होचा पुरुष बढी ‘रोमान्टिक’ ? अध्ययनले खोल्यो यस्तो रहस्य

काठमाडौं । पुरुषको उचाइलाई लिएर समाजमा अनेक धारणा पाइन्छन् । अग्लो हुनु आकर्षणसँग जोडिने गरे पनि एउटा अध्ययनले भने होचा पुरुषबारे केही रोचक निष्कर्ष सार्वजनिक गरेको छ ।

‘द जर्नल अफ सेक्सुअल मेडिसिन’मा प्रकाशित एक अध्ययनअनुसार ५ फिट ९ इन्चभन्दा कम उचाइ भएका पुरुषहरू अग्ला पुरुषको तुलनामा बढी यौन गतिविधिमा संलग्न हुने पाइएको छ ।

न्यूयोर्क युनिभर्सिटीसँग सम्बन्धित उक्त अध्ययनमा ५३१ पुरुषलाई सहभागी गराइएको थियो । अध्ययनले उचाइ र यौन गतिविधिबाहेक उनीहरूको पारिवारिक तथा सामाजिक व्यवहारका केही पक्षलाई समेत हेरेको थियो ।

नतिजाअनुसार कम उचाइ भएका पुरुषहरूले अग्ला पुरुषको तुलनामा सातामा करिब एक घण्टा बढी घरायसी काम गर्ने गरेको पाइएको थियो । अर्थात् खाना पकाउने, सरसफाइ गर्ने तथा घरका अन्य काममा उनीहरूको सहभागिता तुलनात्मक रूपमा बढी देखिएको थियो ।

अध्ययनले वैवाहिक सम्बन्धसँग जोडिएको अर्को रोचक तथ्य पनि सार्वजनिक गरेको छ । कम उचाइ भएका पुरुषमा आफ्नो पार्टनरसँग सम्बन्धविच्छेद गर्ने सम्भावना अग्ला पुरुषको तुलनामा ३२ प्रतिशत कम रहेको अध्ययनमा उल्लेख छ ।

त्यसैगरी, अध्ययनमा सहभागी कम उचाइ भएका पुरुषहरू आम्दानीका हिसाबले पनि अगाडि रहेको पाइएको दाबी गरिएको छ ।

यस अध्ययनका केही निष्कर्ष सामाजिक सञ्जालमा समेत चर्चामा आएका छन्। रोचक कुरा त के छ भने ‘स्पाइडर–म्यान’का अभिनेता टम हल्यान्डले समेत अध्ययनसम्बन्धी सामग्रीलाई लाइक गरेका छन्। हल्यान्डको उचाइ करिब ५ फिट ८ इन्च रहेको बताइन्छ ।

समग्रमा, अग्लो पुरुषलाई बढी आकर्षक वा सफल मान्ने सामाजिक धारणाबीच सार्वजनिक भएको यो अध्ययनले भने उचाइ र पुरुषको व्यवहारबीचका केही फरक सम्बन्ध देखाएको छ ।

यद्यपि, अध्ययनमा देखिएका यस्ता सम्बन्धलाई सबै पुरुषमा लागू हुने निश्चित नियमका रूपमा बुझ्न भने मिल्दैन । मानिसको यौन व्यवहार, वैवाहिक सम्बन्ध, आम्दानी तथा घरायसी जिम्मेवारीमा उचाइबाहेक व्यक्तित्व, उमेर, सामाजिक अवस्था, सम्बन्ध र आर्थिक पृष्ठभूमिजस्ता धेरै पक्षले प्रभाव पार्न सक्छन् ।