साता दिनदेखि उठेन बाबुरामको शव: मानवता का गयो???

साता दिनदेखि उठेन बाबुरामको शव: मानवता का गयो???

बुटवल: कोरोना संक्रमणको आशंकामा उपचार नहुँदा चैत १६ मा मृत्यु भएका बाबुरामको शव साता दिनदेखि अस्पतालबाट उठेको छैन। चैत ६ मा दुबईबाट फर्किएका उनको चैत १६ गते उपचारकै क्रममा मृत्यु भएको थियो ।उच्च ज्वरो र खोकी बढ्दै गएपछि पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापा चैत १३ मा बुटवलस्थित कोरोना (अस्थायी) अस्पतालमा भर्ना भएका थिए । चिकित्सकले सुरुमा कोरोना भाइरस (कोभिड–१९)को आशंका गरे पनि परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको थियो।

रूपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडाँडामा भाडामा बस्दै आएका थापा दुबईमा ट्याक्सी ड्राइभर थिए। उनलाई दुबईमै ज्वरो आउन थालेको थियो। काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उत्रिएपछि पनि परीक्षण गर्दा ज्वरो देखियो। सुरक्षाकर्मीले केहीबेर त्यहीं आराम गराएपछि घरमै गएर आराम गर्न र बाहिर हिँडडुल नगर्न सुझाएर पठाए।

काठमाडौंबाट सार्वजनिक बसमार्फत चैत ७ मा उनी आफ्नो परिवारको सम्पर्कमा आएका थिए। कोठामा परिवारसँगै आराम गरिरहदा पनि ज्वरो नरोकिएपछि चैत १० गते स्थानीय अस्पतालमा गएर रगत परीक्षण गराएका थिए। त्यसमा टाइफाइड देखियो। टाइफाइडको औषधिले ज्वरो कम नभएपछि परिवार र छिमेकीकै सल्लाहमा चैत १३ मा कोरोना अस्थायी अस्पतालमा पुगेका थिए।

कोरोनाको आशंकामा थापालाइ चैत १३ बाटनै आइसोलेसनमा भर्ना गरिएको थियो। अस्पतालले भर्ना भएको तीन दिन पछि थ्रोट स्वाब संकलन गरिनु र त्यही दिनमात्र काठमाडौं पठाउनुको लापरबाहीले मृत्यु भएको परिवारको आरोप छ। चिकित्सकबाट लापरबाही भएको भन्दै थापाका दाजुभाइ र आफन्तले क्षतिपूर्तिको माग गर्दै शव उठाएका छैनन्।

आइतबारसम्म पनि उनको शव उठेको छैन। श्रीमती रीता शव उठाउन हारगुहार गर्दै छिन्।‘हामी शव बुझ्न तयार छौं तर अस्पतालले गरेको लापरबाहीको क्षतिपूर्ति दिनुपर्छ,’ थापाका जेठान कमल टण्डनले भने, ‘मृतककी श्रीमतीलाई रोजगारी, छोराछोरीको पढाइको ग्यारेन्टी र २५ लाख नगद हाम्रो माग हो।’ उपचारमा संलग्न डाक्टरले राजीनामा दिनुपर्ने र शवको दाहसंस्कारका लागि सरकारले सहयोग गर्नुपर्ने उनले बताए।

आशंकाकै भरमा गलत उपचारले श्रीमान्को मृत्यु भए पनि अहिलेसम्म शव उठाउने वातावरण नबनेको उनले बताइन्।मृतककी श्रीमती रीताले पनि दुई छोराको पालनपोषण र शिक्षाका लागि भरपर्दो व्यवस्थापनको आग्रह गरिन्। ‘मर्ने मरेर जानुभयो, बाँचेकालाई केही आधार हुनुपर्‍यो,’ उनले भनिन्, ‘अब जसरी हुन्छ लास उठाइदिनुपर्‍यो।’थापाको जन्मघर पाल्पा भएकाले त्यहाँबाट घरकै दाजु विमल र वडाध्यक्ष कृष्णबहादुर थापाबाहेक अन्यले चासो देखाएका छैनन्।छिमेकमा कोरोनाको हल्ला फैलिएकाले अहिले परिवार र आफन्तमा कोरोनाको त्रास पनि कायमै छ। सामान्य परिवारका थापाका ६ र ७ वर्षका दुई छोरा छन्।