काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोमार्गमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
आइतबार (भदौ २८) बिहान २:५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश-१-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए ।
घटनास्थलमा पुगेको प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीको प्रहरी टोलीले घाइते दुवैजनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपा पठाएको थियो ।
उपचारका क्रममा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका-३ बस्ने २९ वर्षीय पारस थापा र पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी इनरुवा नगरपालिका-३ बस्ने ३४ वर्षीय सागर रेग्मीको निधन भएको हो । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।