अब नागरिक एपबाटै हेर्न सकिनेछ विदेश भ्रमणको विवरण

अब नागरिक एपबाटै हेर्न सकिनेछ विदेश भ्रमणको विवरण

काठमाडौँ । अध्यागमन विभागबाट प्रदान गरिने सेवालाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन नेपाली नागरिकले आफ्नो अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एपमार्फत नै प्राप्त गर्नसक्ने नयाँ व्यवस्था लागू गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले सूचना जारी गर्दै उक्त नयाँ सेवा सञ्चालनमा आएको जानकारी दिएको हो ।यसअघि विभिन्न सङ्घ–संस्था तथा व्यक्तिले विदेश भ्रमणको विवरण प्राप्त गर्न अध्यागमन विभागको कार्यालयमै भौतिक रूपमा उपस्थित भई निवेदन दिनुपर्ने बाध्यता रहेको थियो ।

जसका कारण सेवाग्राहीले प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने, विवरण समयमा नपाइने र विभागको कार्यबोझ समेत बढ्ने गरेको थियो । नयाँ प्रविधिसँगै अब नेपाली नागरिकले भौतिक रूपमा कार्यालय पुगेर निवेदन दिने बाध्यताको अन्त्य भएको छ ।

नागरिक एपमार्फत विवरण प्राप्त गर्नका लागि सेवाग्राहीले नागरिक एपभित्र प्रवेश गरी अध्यागमन शीर्षकअन्तर्गत भ्रमण विवरणमा जानुपर्ने हुन्छ । एपमा लिङ्क भएको राहदानीका आधारमा नागरिकले आफ्नो विदेश भ्रमणको विवरण सजिलै हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यस व्यवस्थामा सम्बन्धित व्यक्तिको लिङ्क भएको राहदानीको विवरण मात्र प्राप्त हुने भएकाले व्यक्तिगत गोपनीयता र विवरण पूर्ण रूपमा सुरक्षित रहने विभागले स्पष्ट पारेको छ ।

नयाँ सेवाको सुरुवातबाट सेवाग्राहीको समय र लागतको बचत हुनुका साथै अध्यागमनको सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी हुने विश्वास लिइएको छ । विभागले यात्रा विवरण माग गर्ने सबै व्यक्ति तथा सम्बन्धित संस्थालाई नागरिक एपबाटै प्राप्त भएको विवरणलाई नै आधिकारिक स्रोतका रूपमा स्वीकार गर्न अनुरोध गरेको छ ।