राजविराज अस्पताल घटनाबारे संसद्‌मा स्वास्थ्यमन्त्रीको प्रस्टीकरण :  दोषीमाथि कारबाहीको प्रतिबद्धता

राजविराज अस्पताल घटनाबारे संसद्‌मा स्वास्थ्यमन्त्रीको प्रस्टीकरण :  दोषीमाथि कारबाहीको प्रतिबद्धता

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको सुत्केरी घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीमाथि छानबिन भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा मन्त्री मेहताले घटनाका सम्बन्धमा मन्त्रालयले चालेका कदमबारे सदनलाई जानकारी गराएकी हुन् । 

भदौ २५ गते प्रतिनिधिसभा बैठकमा सांसदहरूले राजविराजको अस्पताल परिसर बाहिर एक आमाले बच्चा जन्माएको घटनाबारे प्रश्न उठाएका थिए । सोही घटनालाई लिएर स्वास्थ्य मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो।

मन्त्रीको मेहताले मन्त्रालयले घटनाको छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.सुपर्भा श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय एथिकल कमिटी गठन गरेको जानकारी दिइन् । समितिले स्थलगत छानबिन गरिसकेको मन्त्रीले जानकारी दिइन् । घटनाका बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई छानबिन सुरु गरिएको उनले जानकारी दिइन् ।

प्रारम्भिक विवरण अनुसार, प्रसूति व्यथा लागेर आएकी ३० वर्षीया बबिताकुमारी पासवानलाई समयमै सेवा नदिएर अस्पतालको बेड नम्बर २४ बाट बाहिर पठाएको पाइएको छ । अस्पतालले स्पष्टीकरण पेस गरिसकेको मन्त्रीले बताइन् । 

मन्त्री मेहताले सुरक्षित मातृत्व, संस्थागत प्रसूति र आमा तथा नवजात शिशुको स्वास्थ्य सेवालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले भनिन्, ‘कुनै पनि गर्भवती महिलाले जोखिम मोलेर घरमै प्रसूति गराउनुपर्ने अवस्था नआओस् भन्नेमा हामी सचेत छौँ।’

सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क रहेको र यातायात खर्चसमेत सरकारले उपलब्ध गराउँदै आएको जानकारी दिँदै मन्त्री मेहताले कुनै पनि शुल्क माग्नु वा सेवा दिन अस्वीकार गर्नु कानुन विपरीत भएको र त्यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कारबाही गरिने प्रतिबद्धता जनाइन् । 

मन्त्री मेहताले छानबिन प्रतिवेदन प्राप्त हुनासाथ दोषी देखिएकाहरूमाथि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने बताइन् । उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाउँदै आम नागरिकलाई सुरक्षित स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउन सरकार लागिपरेको बताइन् ।