राष्ट्रियसभामा कानुनमन्त्री सोविता गौतमले मागिन् माफी

राष्ट्रियसभामा कानुनमन्त्री सोविता गौतमले मागिन् माफी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभामा माफी मागेकी छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै भदौ २३ गते दिएको अभिव्यक्तिप्रति माफी मागेकी हुन्।

मन्त्री गौतमले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ भए पनि राष्ट्रिय सभामा आफूहरूको उपस्थिति नहुँदा कानुन बनाउन असहज भएको बताएकी थिइन्। उनले राष्ट्रियसभामा रास्वपाको उपस्थिति नभएकै कारण कानुन बनाउन नसकिएको संकेत गरेकी थिइन्।

सोही अभिव्यक्तिपछि राष्ट्रियसभामा सदस्यहरूले गम्भीर ध्यानाकर्षण जनाएका थिए। नेकपाकी सांसद रेणु चन्दले प्रतिनधिसभाबाट आएको कानुनहरू हालसालै कुनै नरोकिएको र मन्त्री गौतमले मिथ्या कुरा फैलाएको आरोप लगाएकी थिइन्। उनले राष्ट्रियसभाको गरिमालाई चोट पुर्‍याएको भन्दै माफी माग्नुपर्ने बताएकी थिइन्।

मन्त्री गौतमले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरिएको बताइन्। उनले जेनजी दिवसको दिन आफूले प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभा र राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने प्रावधान रहेको र त्यो प्रक्रिया जटिल भएकाले सहज नभएको बताउन चाहेको बताइन्। उनले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए क्षमा गरिदिन आग्रह गरिन्। 'मैले बोलेको कुराले कसैलाई चोट पुर्‍याएको छ त्यसमा म क्षमाप्रार्थी छु,' उनले भनिन्।