काठमाडौं। नेकपा (एमाले) का सचिव महेश बस्नेतले गत भदौ २३ गते भएको आन्दोलनमा बाह्य तथा साम्राज्यवादी शक्तिहरूको स्रोत-साधन परिचालन गरिएको गम्भीर आरोप लगाएका छन्। आयोजना गरिएको भण्डाफोर तथा विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन्।
सुरुमा उक्त आन्दोलनप्रति आफूहरूको कुनै आपत्ति नरहेको उल्लेख गर्दै बस्नेतले पछि बाह्य हस्तक्षेपका कारण आन्दोलनको स्वरूप नै बदलिएको बताए।
‘भदौ २३ को आन्दोलनमा सबैको समर्थन थियो, हाम्रो पनि आपत्ति थिएन,’ बस्नेतले भने, ‘तर जब साम्राज्यवादी शक्तिहरूको स्रोत–साधन प्रयोग भयो र राज्यका सुरक्षा निकायहरू मुकदर्शक बने, तब त्यो सामान्य प्रदर्शन रहेन। मुलुकमाथिको गम्भीर आक्रमणमा परिणत भयो।’
नयाँ पुस्ताका युवा र सामाजिक सञ्जालको दुरुपयोग
बाह्य शक्तिहरूले नेपाललाई आफ्नो प्रभावमा पार्न नयाँ पुस्ताका युवाहरूलाई प्रयोग गरेको र यसैका कारण मुलुकको ठूलो सम्पत्ति नष्ट हुने स्थिति बनेको बस्नेतको भनाइ छ। ‘कुनै बम वा मिसाइल पड्काउनै परेन, हाम्रै नेपाली युवाहरूलाई प्रयोग गरेर त्यो परिस्थिति निर्माण गरियो,’ उनले थपे।
त्यसैगरी, सो आन्दोलनका क्रममा ठूलो आर्थिक स्रोतका साथै सामाजिक सञ्जालको समेत योजनाबद्ध दुरुपयोग भएको उनले आरोप लगाए। फेक आईडीहरू प्रयोग गरी राष्ट्र, विकास र संस्थागत मूल्य-मान्यताको पक्षमा उभिनेहरूलाई सामाजिक रूपमा बद्नाम गराउने काम भएको बस्नेतले बताए।