काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । जेन–जीले काठमाडौंमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले पनि सरकार ढाल्ने खेल भइरहेको बताउँदै उनले यस्तो बताएका हुन् । “तीन करोड नेपालीले हामीलाई जिताएर पठाएको हो,” उनले भने, “जेन–जी आन्दोलनको अपमान गर्नु भनेको तीन करोड नेपालीको अपमान गर्नु हो । सुध्रिनुस्, अझै पनि समय छ । त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सक्दैन ।”
उनले गतवर्ष भदौ २३ गते आफूहरुलाई सत्ताको लोभ नभएको बताउँदै भने, “भदौ २३ मा सत्ताको लोभ थिएन । सुशासनको लागि हामी जम्मा भएका थियौँ । शान्तिपूर्ण आन्दोलनमा दमन गरियो । अझै पनि २४ गते जल्यो भनेर भनिएको छ । २३ गते देश मरेको दिन थियो । २४ गते देश जलेको भनिएको छ । मान्छे नरहे यो देश कहाँ रहन्छ ? सहिद भएको दिन थियो ।”
उनले अहिलेको सरकार र मन्त्री अर्को गोलीले मात्रै ढल्ने बताए ।
“जेन–जीको माग पूरा हुँदैन कि क्याहो भन्नुभएको छ,” उनले भने, “हाम्रो माग पूरा नहुन देशमा अर्को एउटा गोली चल्नुपर्छ । माग पूरा नहुन अर्को गोली चल्नुपर्छ । तपाईंको यो मन्त्री एउटै कुराले ढल्छ, त्यो भनेको गोलीले मात्रै ढल्न सक्छ । अर्को गोली चलाउन यो देशमा कसैले हिम्मत गर्न सक्दैन ।”
उनले सरकार कुनै पनि हालतमा नढल्ने बताए ।
“यो सरकार ढल्नेवाला छैन,” उनले भने, “प्रयास त जारी छ । कहिले के गर्नुहुन्छ, कहिले लाञ्छना लगाउनुहुन्छ । मान्छेको शरीर र लाशमाथि राजनीति भइरहेको छ । तीन करोड नेपालीले देखिरहेको छ ।”