झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमण र मृत्युदर बढेपछि करिब पाँच लाख नागरिकलाई जेईविरुद्धको खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा जेई संक्रमित १२ जनामध्ये चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएपछि उच्च सतर्कता अपनाउँदै आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
त्यसका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानअन्तर्गत १५ वटै पालिकाका ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३१९ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासले जानकारी दिएका छन् ।
जिल्लामै सबै बढी संक्रमित मेचीनगर नगरपालिकामा देखिएकोले र त्यही नगरपालिकाबाट सुरू गरिने खोप अभियान १५ दिन अर्थात् असोज १९ गतेसम्म सञ्चालन हुनेछ । एउटा स्थानीय तहमा बढीमा सात दिन खोप सेवा सञ्चालन हुने र यसले मानिसको स्वास्थ्यमा खासै असर नपार्ने स्वास्थ्य प्रमुख दासले बताए ।
जेई खोप लगाउन प्रत्येक वडाहरू खोप केन्द्रहरू स्थापना गर्नुका साथै महिला स्वास्थ्य स्वयंसेविका र खोपकर्मी खटाइनेछ । २०६४ साल अर्थात् २० अघि जिल्लामा १५ वर्षसम्मका बालबालिकालाई जेई खोप अभियान सञ्चालन गरिएको बताउँदै उनले भने,'अहिले २० वर्षपछि ३० वर्ष माथि उमेर समूहलाई यो खोप लगाइन्छ । बालबालिकाहरूले नियमित खोपमार्फत जेई लगाइरहेकोले उनीहरूलाई पर्दैन ।'
सामान्यतया जेईबाट बालबालिका बढी प्रभावित हुने भएपनि पछिल्लो समय ५० वर्षभन्दा माथिका दीर्घरोगीमा संक्रमण तथा मृत्युदर बढी देखिएको छ । भदौ २१ गतेसम्मको तथ्यांक अनुसार ९५ वटा अतिशीघ्र इन्सेफ्लाइटिस सिन्ड्रोम केसमध्ये १२ जनामा जेई संक्रमण पुष्टि भएको थियो । मेचीनगरमा ६ जना संक्रमित भेटिएकोमा दुई जनाको मृत्यु भइसकेको छ । त्यसपछि बिर्तामोडमा दुईजना सङ्क्रमितमध्ये एकजनाको मृत्यु भएको उनले बताए ।
बाह्रदशी,अर्जुनधारा र हल्दीबारीमा पनि एक/एक जना सङ्क्रमितको मृत्यु भइसकेकोले ती पालिकाहरूमा पनि उच्च सतर्कता अपनाइएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी झापा जिल्ला जोखिममा देखिएको छ ।
जिल्लामा सन् २०२४ मा दुईजना,२०२५ मा तीनजना र २०२६ मा ६ जना गरी ११ जनाको जेई सङ्क्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जेई संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । धान खेत,फोहोर तथा हिलोमा पाइने लामखुट्टेले सुँगुर,हाँस,कुखुरा तथा बकुल्लाजस्ता पशुपन्छीबाट भाइरस लिएर मानिसमा सार्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
संक्रमणको जोखिम न्यूनीकरणका लागि लामखुट्टेको टोकाइबाट बच्न,घर वरिपरि सरसफाइ राख्न तथा स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने यस खोप अभियानमा सहभागी हुन जिल्लावासीलाई झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आग्रह गरेका छन् ।