काठमाडौँ । भोटेकोशीको बाढी प्रभावित क्षेत्र काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएका तर पहिचान हुन नसकेका ३० वटा शवलाई काठमाडौँको गोकर्ण जंगलमा अस्थायी तरिकाले सुरक्षित रुपमा राखिएको छ।
गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जंगलमा उक्त शवहरू अस्थायी रुपमा गाडेर राखिएको हो। बाढी प्रभावित क्षेत्र रसुवा,नुवाकोट धादिङबाट ल्याइएका ११४ वटा शव मध्ये पहिचान नखुलेका ३० वटा शवहरूलाई सोमबार उक्त जंगलमा अस्थायी रुपमा गाडिएको नगरपालिका नगर प्रहरी उपशाखाका नगर प्रहरी हवलदार हरेराम केसीले बताए।
'बाढीमा परि मृत्यु हुनु भएका र काठमाडौं ल्याइएका तर पहिचान नभएका शवहरूलाई अस्थायी रुपमा जमिनमुनि राखिएको हो', उनले भने। उक्त शव जमिनमुनी सुरक्षित रुपमा राख्न ठाउँ हेर्न सोमबार प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका सभापती रवि लामिछाने समेत त्यहाँ पुगेका थिए। उनीहरूले ठाउँको निक्योल गरे पछि उक्त शवहरूलाई त्यहाँको जमिनमुनी गाडिएको थियो। शव गाड्नुअघि पहिचान नखुलेका शव र टुक्राटाक्रीको डिएनए नमुना संकलन, फिंगर प्रिन्ट र पाँचथान फोटो लिइएको छ।
त्रिवि शिक्षण अस्पतालमा ११४ वटा शव ल्याइएको थियो। तीमध्ये सनाखत भएको १२ वटा शव परिवारले बुझेर दाहसंस्कार गरेका छन्। सनाखत भएको एकजनाको शव बुझाउने प्रक्रियामा जनाइएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणले मंगलबार बिहान ९:०० बजेसम्मको तथ्यांक प्रस्तुत गर्दै बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु भएको र ३,९१६ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ। बाढीका कारण विभिन्न जिल्लाबाट हालसम्म ९८७ जनाको शव (विभिन्न मानव अङ्गसहित) फेला परेको छ। प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० जनाको शव भेटिएको छ। त्यस्तै गोर्खामा ६५, धादिङमा ५५, तनहुँमा ३८, रसुवामा २७ र नुवाकोटमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
बाढीमा परी हालसम्म २७९ जना घाइते भएका छन्, जसमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन्। घाइतेमध्ये २,७४० जनाको उपचार नेपाल सेनाका स्वास्थ्यकर्मीमार्फत गरिएको छ। पहिचान नखुलेका शवहरूलाई २१ वटा अस्पतालमा राखिएको छ।
विपद्का कारण विशाल संख्यामा मानिसहरू अझै सम्पर्कविहीन छन्। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) का अनुसार नुवाकोटबाट करिब १,५५८ र रसुवाबाट ८६५ जना बेपत्ता छन्। यस्तै जलविद्युत् आयोजनाहरूबाट ६३९ जना, ५८३ जना विदेशी नागरिक र उनीहरूसँग भ्रमणमा गएका १६४ जना नेपाली हालसम्म सम्पर्कमा आएका छैनन्।