डीएनएका लागि रगतको नमुना दिन बाढीमा बेपत्ताका परिवारलाई प्रहरीको आग्रह

डीएनएका लागि रगतको नमुना दिन बाढीमा बेपत्ताका परिवारलाई प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बाढीका कारण सम्पर्कविहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि  रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।

बाढीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो ।
बाढी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका आफन्तमध्ये बाबु, आमा, छोरा वा छोरीलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ । 

नेपालमा रहेका आफन्तले ताजा रगतको नमुना (फ्रेस ब्लड) उपलब्ध गराउन दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

त्यस्तै, विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराउनुपर्नेछ । त्यसरी प्राप्त डीएनए प्रोफाइलको सफ्ट कपी तुलना तथा पहिचानका लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ । 

प्रहरीका अनुसार डीएनए प्रोफाइल पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, पासपोर्ट वा परिचयपत्रको विवरण, बेपत्ता भएको मिति र स्थान (थाहा भएसम्म), आधिकारिक फरेन्सिक ल्याबबाट प्राप्त डीएनए प्रोफाइल रिपोर्ट तथा डीएनए नमुना दिने व्यक्ति र बेपत्ता व्यक्तिबीचको नाता खुल्ने विवरण समावेश गर्नुपर्नेछ।

बाढीपछि विभिन्न स्थानबाट शव तथा शरीरका अंगहरू फेला पर्ने क्रम जारी रहेकाले तिनको पहिचान चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा डीएनए परीक्षणबाट शवको वैज्ञानिक पहिचान गरी परिवारलाई हस्तान्तरण गर्न तथा बेपत्ता व्यक्तिको अवस्थाबारे यकिन गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ। 

डीएनए नमुना तथा पहिचानसम्बन्धी थप जानकारीका लागि सम्पर्क अधिकृत प्रहरी निरीक्षक शम्भु बहादुर केसीलाई ९८४१६१६०९५८ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।