काठमाडौँ । बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय टोली नेपाली सेनाको सहयोगमा बाढी प्रभावित क्षेत्र रसुवाको गोसाईंकुण्ड गाउँपालिका लिङलिङमा उपचारमा खटिएको छ ।
उपचारका क्रममा अहिले सो क्षेत्रमा झाडापखालाका दुई–चार जना बिरामीहरू समेत देखिन थालेका उपचारमा संलग्न डा.सरोजकुमार गोहिवारले जानकारी दिए । यस्तै, प्राकृतिक विपत्तिपछि मानिसहरूमा डर र त्रास पैदा भएकाले धेरैजसोमा ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’ अर्थात् मानसिक आघातको समस्या देखिएको छ ।
उनले पुराना बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह र घुँडा दुख्नेजस्ता समस्या बढी पाइएको बताए । दूषित पानीका कारण झाडापखाला र हैजाजस्ता महामारी फैलिन सक्ने उच्च जोखिम रहेकाले चिकित्सक टोलीले स्थानीयवासीलाई सरसफाइ र सावधानीका उपायहरूबारे सचेत गराएको छ ।
बाढी प्रभावित क्षेत्रमा हाल नियमित सेवन गर्ने उच्च रक्तचाप र मधुमेहका औषधि, खाद्यान्न तथा विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्ने सुविधाको अभाव देखिएको छ ।