त्रिशूली ३ ‘ए’को टनेलमा पस्ने प्रयास अझै असफल

त्रिशूली ३ ‘ए’को टनेलमा पस्ने प्रयास अझै असफल

काठमाडाैँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा पसेर गर्न खोजेको उद्धार प्रयास अझै सफल हुन सकेको छैन। रास्वपाका सांसद श्रीराम न्यौपानेले गएराति करिब ३ बजे टनेलमा ‘क्राउन ब्लास्ट’ (माथिल्लो भागमा बिस्फोट) गरेर भित्र पस्ने प्रयास गरे पनि सम्भव भएको बताएका छन्। 

‘राति करिब ३ बजे ‘क्राउन ब्लास्ट’ गरियो। भित्र पस्ने आशा असम्भव भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुरुङको क्राउन पूरै पानीले भरिएको छ। पहिलेदेखि निरन्तर जारी रहेको सुरुङको मुख खोल्ने कार्य जारी छ।’

४० सेन्टिमिटर मोटाइको ढलान फोर्न व्लाष्टिङ गरिएको हो। सुरुङको मुख खोल्ने काम रातभरदेखि नै जारी छ।

नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मीको टोली घटनास्थलमा खटिएका छन्। सुरुङभित्र प्रवेशका लागि अवरोध बनेको संरचना हटाउने काम सकिए पनि भित्र पस्न अझै उद्धार कर्ताले सकेका छैनन्। 

भदौ १२ गतेदेखि अस्थायी रूपमा बसेको विशेषज्ञ सहितको संयुक्त  टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाईड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरी क्राउनहेड फेला पार्न सफल भएको थियो। 

नेपाली सेनाका अनुसार होलबाट अवलोकन गर्दा ७ मिटरको डाइमिटरमा धेरै माथिसम्म पानीको सतह देखिएको छ। यस आयोजनामा बाढीपछि ४२ जना सम्पर्कविहीन छन्।