स्वास्थ्य सामग्री खरिद गर्न सेनालाई दिए छानबिन हुँदैन भन्‍ने सोच सरकारमा छ : कांग्रेस नेता पौडेल

स्वास्थ्य सामग्री खरिद गर्न सेनालाई दिए छानबिन हुँदैन भन्‍ने सोच सरकारमा  छ : कांग्रेस नेता पौडेल

काठमाडौँ : कांग्रेस नेता रामचन्द्र पौडेलले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामाग्री सेनाले खरिद गर्दा छानबिन हुँदैन भन्ने मानसिकतामा सरकार पुगेको बताएका छन् ।  नेता पौडेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सन्देशमा सेनाले अन्त्यावश्यक सामाग्री खरिद गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दैन भन्ने मानसिकतामा सरकार पुगेको बताएका हुन्।

सरकारको यो निर्णयले सरकारका अन्य निकायप्रति आम नागरिकमा अविश्वास सिर्जना भएको उनको भनाइ छ। ‘अत्यावस्यक मेडिकल सामाग्री खरिद गर्ने जिम्मा सेनालाई दिइयो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दैन भन्ने मानसिकतामा सरकार पुगेको यो घटनाले प्रष्ट भएको छ,’ पौडेलले भनेका छन्, ‘सबै काम सेनालाई जिम्मा लगाएर राज्यका अन्य निकायमा नागरिकको अविश्वास पैदा गर्न सरकार लागिरहेको छ। र अहिले भएको अनियमितता ढाकछोप गर्न यो निर्णयले सहयोग पुग्छ कि भन्ने ध्यय सरकारको देखिन्छ।’

संकटको बेलामा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भएको पौडेलको भनाइ छ। पौडेलले भ्रष्टाचारका कारण सरकारमा जनताप्रतिको सेवाभाव हराएको बताउँदै भ्रष्टाचारबाट पैसा जम्मा गरेर त्यही पैसाका भरमा चुनाव कब्जा गर्ने मनोवृति देखिएको बताए।

नेता पौडेलले कोरोनाको संक्रमणले संघीयताको औचित्य पुष्टि भएको बताए। उनले स्थानीय तहले संकटका बेलामा देखाएको कामले संघीयता र स्थानीय तहको अधिकार आवश्यक थियो भन्ने पुष्टि भएको बताए। पौडेलले स्थानीय तहमा जनप्रतिनिधिलाई प्रशिक्षित बनाउन सके संकटका बेलामा अझै क्षमता देखाउन सक्ने बताए।