यदि लामो समयसम्म लकडाउन भएमा एफएम, टीभी र युट्युबबाट विद्यार्थीलाई पढाउन सक्ने

यदि लामो समयसम्म लकडाउन भएमा एफएम, टीभी र युट्युबबाट विद्यार्थीलाई पढाउन सक्ने

काठमाडौँ: कोरोनाको रोकथामकालागी अहिले देश लकडाउनमा छ ।अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय, शैक्षिक संस्थाहरु पनि बन्द छन् । साथै घर बाहिर ननिस्किन सरकारले सबैलाई निर्देशन दिएको छ ।चैत्र २५ सम्म लकडाउन रहने भनेता पनि कहिलेसम्म रहला भन्ने टुंगो छैन ।

यदि लामो समयसम्म लकडाउन भएमा विद्यार्थीहरुको पढाइ प्रभावित हुनसक्ने भन्दै शिक्षा मन्त्रालयका अधिकारीहरु पढाउने नयाँ तरिकाको तयारीमा जुटेका छन् ।

मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसीप्रसाद थपलियाले भने, ‘कक्षा कोठामा गएर सिक्ने, सिकाउने अवस्था नभएमा सिकाइलाई निरन्तरता दिन के गर्न सकिन्छ भन्नेबारेमा हाम्रो छलफल जारी छ, तयारी पनि त्यो ढंगले भएको छ । यदि त्यस्तो अवस्था आयो भने हामी वैकल्पिक व्यवस्था गर्न सक्छौं र गर्छौं ।’

अघिल्ला वर्षहरुमा चैत दोस्रो साताभित्र विद्यालयका परीक्षा सकिन्थ्यो र विद्यालयहरु बन्द नै हुन्थ्यो । त्यसबीच उत्तरपुस्तिका जाँच्ने, नतिजा प्रकाशन गर्ने लगायतका तयारी हुन्थे । नतिजा प्रकाशित भइसकेपछि बैशाख १५ गतेसम्म नयाँ भर्ना लिइन्थ्यो । त्यसकारण अहिलेसम्म लकडाउनले शिक्षा क्षेत्रमा खासै प्रभाव परेको मानिएको छैन । लकडाउन कहिलेसम्म रहन्छ भन्ने यकिन नभएपछि मन्त्रालयका अधिकारीहरु पढ्ने(पढाउने विकल्पिक विधि खोज्न लागेका हुन् ।

महानिर्देशक डा.थपलियाले भने, ‘वैकल्पिक सिकाइ सहजीकरणका विधिहरु कसरी प्रयोग गर्ने भन्ने छलफलमा छौं हामीहरु । त्यसभित्र विभिन्न मिडियाहरुको प्रयोग कसरी गर्ने, अडियो, भिडियो, अनलाइन सामग्रीहरु, टिचिङ मेटेरियलहरु के हुन सक्छन् भनेर हामी निरन्तर छलफलमा छौं ।’ उनले स्थानीय एफएम, राष्ट्रिय टेलिभिजन, केबुल अपरेटर, युट्युव च्यानलबाट पढाउन सकिने बताए ।

सिकाइका त्यस्ता विधिबारे जानकार जनशक्ति आफूहरुसँग रहेको पनि उनले बताए । ‘विगतदेखि नै हामीले केही न केही काम गरिरहेका छौं । मेरो नै कुरा गर्नुहुन्छ भने चार वर्ष मैले यस्तै क्षेत्रमा काम गरेँ । त्यसैले रेडियोलाई कसरी प्रयोग गर्न सकिन्छ, टीभीलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने अनुभवी जनशक्ति हामीसँग छ ।’

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सबैभन्दा पहिले लकडाउनको नीति लिएको चीन सरकारले विद्यार्थीहरुलाई घरमै बसीबसी पढ्ने व्यवस्था मिलाएको थियो ।

शिक्षक कक्षा कोठामा र विद्यार्थीहरु घरमा बसेर पढाउनेरपढ्ने व्यवस्था मिलाइएको थियो । विश्वविद्यालयहरुले पनि अनलाइन कक्षा र परीक्षा सञ्चालन गर्दै आएका छन् ।

सरकारले नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयासमा १० चैतदेखि देशभर लकडाउन गरेको छ । सुरुमा १८ चैतसम्म लकडाउन गरिए पनि त्यो अवधि थपेर अहिले २५ चैतसम्म पुर्‍याइएको छ ।

लकडाउन गर्नुअघि सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न र नयाँ भर्ना नलिन सबै विद्यालयहरु निर्देशन दिएको थियो । साथै एसईई परीक्षा सुरु हुनुभन्दा केही घण्टा अगाडि स्थगित गर्ने निर्णय गरिएको थियो ।

शिक्षा मन्त्रालयले केही वर्षयता एसईईका परीक्षार्थीलाई लक्षित गरी नेपाल टेलिभिजन (एनटीभी)बाट कक्षा सञ्चालन गर्दै आएको छ । एसईई स्थागित भएर लकडाउन जारी रहँदासम्म पनि त्यस्ता कक्षा एनटीभीबाट प्रसारण हुँदै आएका छन् ।