ज्वरो आएर युवतीको मृत्यु भएपछि मात्र कोरोना भाइरस परीक्षण गरिदै

ज्वरो आएर युवतीको मृत्यु भएपछि मात्र कोरोना भाइरस परीक्षण गरिदै

चितवन : आज बिहान चितवनको भरतपुर अस्पतालमा भर्ना भएकी युवतीको ज्वरो र निमोनियाका कारण मृत्यु भए पछि युवतीको स्वाब परीक्षण वा कोरोना भाइरस परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ ।

अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको हो । अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताउनुभयो । युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो । अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको उहाँले जानकारी दिनुभयो । यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न थालिएको हो ।