सुनसरी घटनाको विरोधमा सिरहामा प्रदर्शन: पूर्व-पश्चिम राजमार्ग आधा घण्टा अवरुद्ध, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

सुनसरी घटनाको विरोधमा सिरहामा प्रदर्शन: पूर्व-पश्चिम राजमार्ग आधा घण्टा अवरुद्ध, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

सिरहा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन तीव्र बनेको छ।

मङ्गलबार सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक (चोहर्वा) मा भेला भएका स्थानीयले निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। आन्दोलनकारीहरूले घटनामा संलग्न सुरक्षाकर्मीमाथि कडा कानुनी कारबाही हुनुपर्ने र प्रहरी दमन अन्त्य हुनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामासमेत मागेका छन्।

यसअघि सोमबार पनि सिरहाका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको थियो। कर्जन्हा नगरपालिकाको बन्दीपुर, गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ स्थित कसहा चोकमा स्थानीयले प्रदर्शन गर्दै घटनाप्रति कडा विरोध जनाएका थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मङ्गलबारको प्रदर्शनका कारण पूर्व-पश्चिम राजमार्ग करिब आधा घण्टासम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। पछि आन्दोलनकारीहरूसँग वार्ता र छलफल गरी सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

सुनसरीमा भएको उक्त घटनालाई लिएर सिरहाका साथै आसपासका अन्य विभिन्न जिल्लाहरूमा पनि अझै प्रदर्शन जारी रहेको छ।

छुटाउनुभयो कि ?