कोरोना रोकथामका लागी विदेशबाट नेपाली विद्यार्थीहरुको उद्दार अहिले नगरिने: परराष्ट्रमन्त्री ज्ञवाली

कोरोना रोकथामका लागी विदेशबाट नेपाली विद्यार्थीहरुको उद्दार अहिले नगरिने: परराष्ट्रमन्त्री  ज्ञवाली

काठमाडौँ: नेपाल सरकारले विदेशमा रहेका नेपाली विद्यार्थीहरुलाई घर नेपाल ल्याउने तथा उद्दार गर्ने योजना नभएको प्रष्ट पारेको छ ।

कोरोनाको उच्च प्रभाव यूरोप,अमेरिका,अष्ट्रेलियामा परे लगतै विद्यार्थीहरु बेखर्ची हुन थालेपछि शैक्षिक परामर्श केन्द्र सञ्चालकहरूले यूरोप,अमेरिका,अष्ट्रेलियामा रहेका विद्यार्थीलाई उचित सुविधा दिन र तत्काल घर फर्कनु परेमा उचित प्रवन्ध गर्न माग गर्दै आएका छन् । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका विद्यार्थी वा श्रमिकलाई घर फर्काउने योजना नरहेको बताएका छन् ।

अहिले यात्रा गर्नु सुरक्षाका दृष्टिले समेत उचित नभएको भन्दै मन्त्री ज्ञवालीले राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले देख्यौं, नेपालमा संक्रमितहरूमध्ये अधिकांश नागरिकहरू विदेशबाट स्वदेश यात्राका क्रममा रहेकाहरू हुनुहुन्छ । नेपाल आफैं पनि संक्रमणसँग जुधिरहेको छ । यतिबेलाको सर्वोत्तम उपाय भनेको जो जहाँ छ, त्यहीँ रहनुपर्छ ।’

कतिपयले चीनको वुहानबाट नेपाली विद्यार्थीहरुलाई उद्दार गरेको स्मरण गर्दै छोटो समयका लागि विदेश गएका र गम्भीर संकट व्यहोरिरहेकाहरूलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सकिन्न भन्ने प्रश्न पनि गरेका छन् ।