अदालतका फैसलाले नेताहरूलाई बदनाम गराउन 'काल्पनिक कथा' बुनिएको पुष्टि गर्छ: महेश बस्नेत

अदालतका फैसलाले नेताहरूलाई बदनाम गराउन 'काल्पनिक कथा' बुनिएको पुष्टि गर्छ: महेश बस्नेत

काठमाडौं। नेकपा (एमाले) का सचिव महेश बस्नेतले नक्कली भुटानी शरणार्थी र टेरामक्स प्रकरणमा हालै भएका अदालती फैसलाहरूले स्थापित दल र तिनका नेताहरूलाई बदनाम गराउन ‘काल्पनिक कथाहरू’ बुनिएको पुष्टि गरेको दाबी गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो टिप्पणी सार्वजनिक गर्दै सचिव बस्नेतले यस्तो दाबी गरेका हुन्।

उनले टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विशेष अदालतबाट पाएको सफाइ तथा भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा र सन्दीप रायमाझीसहित सात जनाले जिल्ला अदालतबाट पाएको सफाइलाई न्यायालयले 'दूधको दूध, पानीको पानी' छुट्ट्याएको फैसलाका रूपमा चित्रण गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै सचिव बस्नेतले न्यायालयका यी फैसलाबाट पुराना दल र तिनका नेताहरूलाई बदनाम गराउन भ्रष्टाचारलगायतका मुद्दामा काल्पनिक कथाहरू बनाइएका थिए भन्ने कुरा स्वतः प्रमाणित हुने उल्लेख गरेका छन्। उहाँले अगाडि भनेका छन्, “प्रमाणले होइन, अल्गोरिदमबाट बनाइएको मनले भने यस्ता कुरा सहजै लिन समय लाग्नेछ।”

काठमाडौं जिल्ला अदालतले मंगलबार शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापासहित सात जनालाई सफाइ दिएको थियो। यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको टेरामक्स खरिद अनियमितता प्रकरणमा पनि विशेष अदालतले पूर्वसञ्चारमन्त्री बस्नेतसहितका प्रतिवादीहरूलाई सफाइ दिइसकेको छ।

छुटाउनुभयो कि ?