विश्वकप २०२६: इजिप्टमाथि अर्जेन्टिनाको रोमाञ्चक जित, साविक विजेता टोली अन्तिम आठमा

विश्वकप २०२६: इजिप्टमाथि अर्जेन्टिनाको रोमाञ्चक जित, साविक विजेता टोली अन्तिम आठमा

काठमाडाैं। साविक विजेता अर्जेन्टिना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित ‘फिफा विश्वकप-२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको एटलान्टास्थित मर्सिडिज-बेन्ज स्टेडियममा नेपाली समयअनुसार असार २४ गते भएको अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा इजिप्टलाई ३-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो । खेलको सुरुवाती समयमा बलियो पकड बनाएको इजिप्टमाथि अर्जेन्टिनाले खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो ।

खेलमा पहिलो अग्रता भने अप्रत्याशित रूपमा इजिप्टले लिएको थियो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए, जसले अर्जेन्टिनाको बलियो रक्षापंक्तिलाई दबाबमा राखेको थियो।

पहिलो हाफमा एक गोलले पछि परेको अर्जेन्टिना दोस्रो हाफमा झन् संकटमा पर्यो, जब खेलको ६७औँ मिनेटमा इजिप्टका मुस्तफा जिकोले अर्को गोल थप्दै आफ्नो टोलीलाई २–० को बलियो स्थितिमा पुर्याए।

दुई गोलले पछि परिसकेपछि निकै आक्रामक बनेको अर्जेन्टिनाका लागि स्टार डिफेन्डर क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा पहिलो गोल गर्दै गोल अन्तर घटाए। त्यसको ठीक चार मिनेटपछि अर्थात् खेलको ८३औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले जादुई गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।

खेल बराबरीमा सकिएर अतिरिक्त समयतर्फ धकेलिने सङ्केत देखिँदै गर्दा दोस्रो हाफको इन्जुरी समय अर्जेन्टिनाका लागि निर्णायक बन्यो । खेलको ९०+३ औँ मिनेटमा एन्जो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई ३-२ को रोमाञ्चक जित दिलाए र टोलीको क्वाटरफाइनल यात्रा सुरक्षित गरे।

छुटाउनुभयो कि ?