बालेन र सुधन गुरूङसँग एमालेले एक-एक हिसाब राख्छ: महेश बस्नेत

बालेन र सुधन गुरूङसँग एमालेले एक-एक हिसाब राख्छ: महेश बस्नेत

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङ नेतृत्वको वर्तमान सरकारले एमालेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै सरकारका प्रमुखहरूसँग एक–एक हिसाब राखिने चेतावनी दिएका छन्।

शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद् भवन र सर्वोच्च अदालत जस्ता देशका गरिमामय भौतिक सम्पत्तिहरू जलाइएको घटनादेखि एमालेका शीर्ष नेताहरूमाथि गरिएको धरपकडसम्मको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका हुन्।

देशमा पछिल्लो समय विकसित भएको राजनीतिक धु्रुवीकरण र एमालेका प्रभावशाली नेताहरूमाथि सरकारले चालेको कदमप्रति आक्रोश पोख्दै बस्नेतले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङप्रति एमालेको स्पष्ट दृष्टिकोण रहेको र समय आएपछि यसको क्रमिक हिसाबकिताब हुने उल्लेख गरे। उनले सरकारले कानुनी राज्यको उपहास गर्दै राजनीतिक प्रतिशोधका आधारमा एमालेका नेता तथा कार्यकर्ताहरूलाई तारो बनाएको दाबी गरे।

विशेष गरी एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सरकारले ‘वाहियात’ र कपोलकल्पित आरोपहरू लगाएर हिरासतमा राखेको भन्दै बस्नेतले उक्त कदमको कडा शब्दमा भर्त्सना गरे।

विनाकुनै वस्तुनिष्ठ प्रमाण र आधार, केवल राजनीतिक रूपमा कमजोर बनाउने बदनियतका साथ उपाध्यक्ष पौडेललाई थुनिएको दाबी गर्दै उनले सरकारको यस्तो स्वेच्छाचारी र अधिनायकवादी प्रवृत्तिको विरुद्ध एमालेले सडक र सदन दुवै ठाउँबाट कडा प्रतिवाद गर्ने चेतावनी दिए। सरकारले आफ्ना कमजोरीहरू लुकाउन र जनताको ध्यान मोड्न प्रमुख प्रतिपक्षी दलमाथि प्रहार गरिरहेको भन्दै उनले एमालेको जागरण अभियानले यस्ता गलत कदमको भण्डाफोर गर्ने स्पष्ट पारे।

छुटाउनुभयो कि ?