काठमाडौं। फिफा विश्वकप फुटबलको रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै इजिप्ट प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।
अमेरिकाको डलासस्थित रंगशालामा सम्पन्न निकै प्रतिस्पर्धात्मक र संघर्षपूर्ण खेलमा इजिप्टले अस्ट्रेलियालाई ४-२ को पेनाल्टी सुटआउट नतिजाले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयसम्म पनि दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। खेलको सुरुवाती समयदेखि नै आक्रामक रणनीति अपनाएको इजिप्टले खेलको १३औं मिनेटमा नै अग्रता बनाएको थियो।
इजिप्टका मिडफिल्डर इमाम आशुरले उत्कृष्ट हेडमार्फत गोल गर्दै टोलीलाई १-० को सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा इजिप्टले यो अग्रता कायम राखे पनि दोस्रो हाफमा अस्ट्रेलियाले खेलमा फर्कने प्रयास जारी राख्यो। खेलको ५५औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट आत्मघाती गोल हुन पुगेपछि अस्ट्रेलियाले १-१ को बराबरी गर्ने अवसर पायो।
त्यसपछिको निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट गोलका थप प्रयासहरू भए पनि फिनिसिङ कमजोर हुँदा खेल पेनाल्टी सुटआउटमा धकेलियो । पेनाल्टी सुटआउटमा इजिप्टका गोलकिपर र पेनाल्टी प्रहारकर्ताहरूले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई ४-२ को जित दिलाए।
विश्वकपको नकआउट चरणमा पुगेसँगै इजिप्टका समर्थकहरूमा उत्साह छाएको छ भने अस्ट्रेलियाको विश्वकप यात्रा यहीँ सकिएको छ। अब इजिप्टले क्वाटरफाइनल प्रवेशका लागि अन्तिम १६ को खेलमा अर्जेन्टिना र केप भर्डेबिच हुने खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।