काठमाडौं। नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले वित्तीय अनुशासन र नियामक मापदण्ड उल्लंघन गर्ने विभिन्न ८ वटा लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि कडा कारबाही गरेको छ।
आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रयमासमा गरिएको सुपरीवेक्षणका क्रममा संस्थागत सुशासन कायम नगरेको र वित्तीय सूचकांक कमजोर पाइएका संस्थाहरूलाई केन्द्रीय बैंकले शिघ्र सुधारात्मक कारबाही तथा सचेत गराउने निर्णय गरेको हो। आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन र नियामक मापदण्ड पूर्ण रूपमा पालना गर्न राष्ट्र बैंकले सबै संस्थाहरूलाई कडा निर्देशन समेत दिएको छ।
राष्ट्र बैंकका अनुसार पुँजीकोष अनुपात नियामक मापदण्ड भन्दा कम भएका पाँचवटा लघुवित्तलाई शिघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ बमोजिम कारबाही गरिएको छ।
यसरी कारबाहीमा पर्नेहरूमा आरम्भ चौतारी लघुवित्त (पुँजीकोष ७.७७ प्रतिशत), गणपति लघुवित्त (६.०६ प्रतिशत), सामुदायिक लघुवित्त (६.१२ प्रतिशत), नेरुडे मिर्मिरे लघुवित्त (६.०१ प्रतिशत) र सिवाइसी नेपाल लघुवित्त (६.२० प्रतिशत) रहेका छन्। यी संस्थाहरूको पुँजीकोष अवस्था जोखिमपूर्ण देखिएकाले राष्ट्र बैंकले तत्कालै सुधारात्मक कदम चाल्न निर्देशन दिएको हो।
पुँजीकोष कमजोर भएका बाहेक संस्थागत सुशासन र आर्थिक अनुशासन उल्लंघन गरेको भन्दै केही संस्थाका सञ्चालक समिति र कार्यकारी प्रमुखलाई समेत सचेत गराइएको छ।
धौलागिरि लघुवित्तको सञ्चालक समितिले संस्थाको कर्मचारी सेवा विनियमावली विपरीत नायब कार्यकारी अधिकृतलाई पुनर्बहाली गरेको र स्पष्ट आधार विना नै तलब भत्ता भुक्तानी गरेको पाइएकाले उनीहरूलाई सचेत गराइएको छ।
त्यसैगरी, सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिले सवारी साधन खरिद गर्दा आर्थिक प्रशासन विनियमावलीमा भएको खर्च सीमा र अख्तियारी पालना नगरेको पाइएकाले राष्ट्र बैंक ऐन बमोजिम सचेत गराइएको छ। यता नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई ८१ करोड ५५ लाख रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था विना आधार फिर्ता गरी आम्दानी देखाएको र राष्ट्र बैंकको निर्देशन विपरीत लेखांकन गरेको भन्दै सचेत गराइएको छ।