सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ, काठमाडौँ ल्याइँदै

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ, काठमाडौँ ल्याइँदै

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरको अनुसन्धानका लागि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार साँझ करिब ५:१५ बजे वीरेन्द्रनगर नगरपालिका–३ मा रहेको शुभ होटलबाट उनलाई नियन्त्रणमा लिएको हो।

ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रत्यक्ष निर्देशनमा उनलाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ। विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २१ बमोजिम पक्राउ गर्न भन्दै सुर्खेत प्रहरीलाई आधिकारिक इमेलमार्फत पत्राचार गरेको थियो।

सोही निर्देशन र विभागले जारी गरेको जरुरी पक्राउ पुर्जीका आधारमा खोजतलास गर्दा उनी होटलमा फेला परेका थिए। पक्राउ पुर्जी बुझाएर आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई विभागको जिम्मा लगाउने प्रक्रिया अगाडि बढाइएको छ।

बुटवल उपमहानगरपालिका–९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२५ स्थित मैयु आवासमा बस्दै आएका पौडेललाई पक्राउ लगत्तै काठमाडौँ पठाउने व्यवस्था मिलाइएको छ। सुरुमा उनलाई रात्रिबसमार्फत काठमाडौँ पठाउने योजना बनाएको प्रहरीले पछि उक्त निर्णय परिवर्तन गरेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हाल उनलाई प्रहरी निरीक्षक श्यामप्रसाद यादवको जिम्मा लगाएर नेपालगञ्ज पुर्‍याइएको छ भने त्यहाँबाट श्री एयरलाइन्सको उडानमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?