मुलुकको आवश्यकता र भावी चुनौती सम्बोधन गर्ने गरी कानुन बनाउनुपर्छ, लाइसेन्स परीक्षाको ९० दिने नियम अव्यवहारिक: सभामुख अर्याल

मुलुकको आवश्यकता र भावी चुनौती सम्बोधन गर्ने गरी कानुन बनाउनुपर्छ, लाइसेन्स परीक्षाको ९० दिने नियम अव्यवहारिक: सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले मुलुकको वर्तमान आवश्यकता र भविष्यमा आउने चुनौतीहरूलाई वस्तुनिष्ठ ढंगले सम्बोधन गर्ने गरी नयाँ कानुनहरूको निर्माण गरिनुपर्नेमा जोड दिएका छन्।

पूर्वसांसद मञ्चद्वारा राजधानीमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

सभामुख अर्यालले बदलिँदो समय अनुसार पुराना, असान्दर्भिक र काम नलाग्ने कानुनहरूको तत्काल संशोधन वा खारेजी गरिनुपर्ने बताए। योसँगै आजको डिजिटल युग सुहाउँदो प्रविधिमैत्री नयाँ कानुनहरूको तर्जुमा गर्नु नै संसद् र सांसदहरूको अहिलेको मुख्य विधायकी जिम्मेवारी भएको उनको भनाइ थियो।

कार्यक्रममा व्यावहारिक समस्याहरूबारे चर्चा गर्दै सभामुख अर्यालले यातायात क्षेत्रको सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको प्रक्रियामा रहेको ९० दिनको झन्झटिलो समयसीमा र कतिपय प्राविधिक अवस्थामा राखिएको शैक्षिक योग्यताको प्रावधानप्रति कडा आपत्ति जनाए।

लिखित परीक्षामा अनुत्तीर्ण हुने परीक्षार्थीले पुनः परीक्षा दिनका लागि तीन महिनासम्म कुर्नुपर्ने विद्यमान नियम पूर्ण रूपमा अव्यवहारिक र जनविरोधी रहेको भन्दै उनले यस किसिमका कानुनी अड्चनले आम नागरिकको दैनिक जीविकोपार्जन र श्रम गर्ने अधिकारमा समेत गम्भीर बाधा पुर्‍याएको टिप्पणी गरे।

नीति निर्माण र त्यसको कार्यान्वयनको पाटोलाई केलाउँदै उनले राज्यसँग उपलब्ध स्रोत र साधनभन्दा पनि सरोकारवाला निकाय र व्यक्तिको सफा ‘नियत’ सबैभन्दा महत्त्वपूर्ण हुने प्रस्ट पारे। नियत सफा भए मात्र बनेका नीति–नियम र कानुनहरूले समाजमा सकारात्मक एवं सार्थक परिणाम दिन सक्ने उनको दृढ विश्वास थियो।

छुटाउनुभयो कि ?