सरकारले साढे ५ लाख शय्याको क्वारेन्टाइन बनाउने

सरकारले साढे ५ लाख शय्याको क्वारेन्टाइन बनाउने

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशभर करिब साढे ५ लाख शय्याका सार्वजनिक क्वारेन्टाइन निर्माण गर्ने भएको छ । आइतबार बसेको बैठकले प्रदेश र स्थानीयले अनिवार्य रूपमा क्वारेन्टाइन निर्माण गर्नुपर्ने प्रस्ताव तयार पारेको छ ।

काठमाडौंमा संघीय सरकारले कम्तीमा ५ हजार, प्रत्येक प्रदेश र महानगरपालिकाले २/२ हजार, उपमहानगरपालिकाले १/१ हजार, नगरपालिका र गाउँपालिकाले ५ सयदेखि १ हजार शय्याका क्वारेन्टाइन निर्माण गर्नुपर्ने कार्यदलको प्रस्ताव छ । कार्यदलले काठमाडौंको इचंगुनारायण र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरमा क्वारेन्टाइन निर्माण गर्न सकिने जनाएको छ । काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल र रंगशाला परिसरमा पनि क्वारेन्टाइन बनाउन लागिएको छ र ती स्थानको क्षमता के–कति छ भन्ने खाका पेस गर्न राष्ट्रिय खेलकुद परिषद्लाई भनिएको छ । प्याब्सन, एनप्याब्सन र हिसानका पदाधिकारीलाई पनि विभिन्न शैक्षिक संघसंस्था र होस्टलमा कम्तीमा दुई हजार शय्याका क्वारेन्टाइन निर्माणको खाका पेस गर्न निर्देशन दिइएको छ ।

सरकारले क्वारेन्टाइन निर्माणका लागि मापदण्डको खाका तयार पारेको छ । क्वारेन्टाइन स्थल निर्माणसम्बन्धी मापदण्डको मस्यौदा समितिले आइतबार साँझ गृह मन्त्रालयमा बुझाएको छ । सरकारी, गैरसरकारी, निजी र व्यक्तिगत स्वामित्वमा भएका भौतिक संरचना र स्थलमा सार्वजनिक क्वारेन्टाइन निर्माण गर्न सकिने मस्यौदामा उल्लेख छ ।