कांग्रेसको रिटमा सर्वोच्चले सरकारलाई सोध्यो प्रतिनिधिसभा विघटन गर्नुको कारण

कांग्रेसको रिटमा सर्वोच्चले सरकारलाई सोध्यो प्रतिनिधिसभा विघटन गर्नुको कारण

काठमाडौैं, । नेपाली कांग्रेसका निवर्तमान प्रमख सचेतक श्याम घिमिरेसहित ८ जनाले दायर गरेको प्रतिनिधिसभा विटनविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ । आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइ भएको सो मुद्दामा कारण देखाउ आदेश जारी भएको हो । नेपाली कांग्रेसका नेता घिमिरेसहितले संसद् विघटनलाई असंवैधानिक भन्दै गत मंसिर २३ गते रिट दायर गरेका थिए ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखसमेतलाई विपक्षी बनाइएको थियो ।

संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधानविपरीत संसद् विघटन गरिएको रिट निवेदकको दाबी छ । रिट निवेदकले तत्काल प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका छन् ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेका थिए । संसद् विघटनविरुद्ध नेपाली कांग्रेस मात्रै नभएर, नेकपा (एमाले) र सरोकारवालाहरुले विभिन्न रिट दायर गरेका छन् ।