काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफू पर नभएको स्पष्ट पार्दै एमाले थप बलियो बनेर अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनको बन्दसत्र स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अध्यक्ष ओलीसँग आफ्नो राजनीतिक यात्रा एउटै रहेको बताएका हुन् ।
उनले भने, ‘केपी शर्मा ओलीबाट पर भएको भए म यहाँ किन हुन्थे र ? म यही महाधिवेशनमा छु, उहाँको र मेरो डुङगा एउटै छ । उहाँ डुब्दा म पनि डुब्छु र म डुब्दा उहाँलाई पनि असर पुग्छ ।’
चिनजानको प्रसङ्ग उठाउँदै उनले ०४३ सालमै ईश्वर पोख्रेलसँग भेट भएको स्मरण गरे । आफू भूमिगत अवस्थाकै कार्यकर्ता भएको उल्लेख गर्दै उनले एमालेका सबै नेता आफ्ना लागि बराबर रहेको बताए ।
‘चिनजानकै कुरा गर्नुहुन्छ भने ०४३ सालमा ईश्वर पोख्रेल भेटेको मान्छे हो नि म,’ उनले थप भने, ‘एमालेका नेता मेरा लागि सबै उस्तै हुन्, बराबर हुन् । म भूमिगत बेलाकै कार्यकर्ता पनि हुँ । त्यसैले मैले कोही नेतालाई सिरानी हालेर अनुचित लाभ उठाएर हिड्नुपर्ने छैन् ।
उनका अनुसार एमाले पार्टी विधि र प्रक्रियामै अघि बढ्ने परम्परा रहेको छ । ‘महाधिवेशन न पहिलो हो न अन्तिम,’ उनले भने, ‘विधि र प्रक्रिया सधैं रहने विषय हुन् ।’
उनले महाधिवेशनबाट एमाले अझ सशक्त र एकताबद्ध भएर बाहिरिनुपर्नेमा जोड दिए ।