काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार कार्यतालिकाअनुसार भोलि उम्मेदवारी दर्ता हुनेछ भने पर्सि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ।
सार्वजनिक कार्यतालिकाअनुसार भोलि बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि एक घण्टा मतदाता नामावलीमाथि दाबी–विरोध तथा सुधारका लागि समय छुट्याइएको छ। बिहान १० बजेसम्म दाबी गरिएका नाममाथि आएका विरोधको छानबिन गरी निर्णय गरिने निर्वाचन आयोगले जनाएको छ।
१०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ भने १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवार दरखास्त फारम दर्ता गर्न सकिनेछ। उम्मेदवारी दर्ता गरिसकेपछि त्यसको ३० मिनेट उम्मेदवारका दरखास्तमाथि उजुरी दिने समय तोकिएको छ।
त्यसपछि दुई घण्टासम्म उम्मेदवारले नाम फिर्ता लिन चाहेमा समय प्रदान गरिनेछ। निर्वाचन आयोगका अनुसार भोलि बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।