पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले भक्तपुरको लोकन्थलीमा बनाउँदै गरेको नयाँ घरमा बम विस्फोट भएको छ ।बाँस्कोटा भने अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन् ।मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।

बास्कोटाको घरमा बुधबार बिहान साढे ७ बजेतिर प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट बास्कोटाको घरको पर्खाल, घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक (डीएसपी) शान्तिराज कोईरालाले जानकारी दिए । बम बिस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा पनि क्षति पुगेको बताइएको छ । पूर्वमन्त्री बास्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरको सिसा समेत फुटेको छ ।

बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली पुगेको छ ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिकपछि बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।