अब एकीकरणपछि पार्टी फुट्दैन : अध्यक्ष थापा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका छन् ।

पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् । बुधबार राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकता हुँदैछ । पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे ।

उनले भने,‘पार्टी फुट्छ की भन्‍ने नकारात्मक सोच र आशंका लिएर नजाऔं । सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडी बढ्न खोज्यौं भने शिथिल भइन्छ र गति लिन सकिँदैन् । अब पार्टी फुट्दैन, फुट्न दिँदैनौं भन्‍ने मानसिकताका साथ पार्टी अगाडी बढ्नुपर्छ ।’

थापाले कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने बताए ।

अन्य कुनै पनि पार्टीले आफूलाई कांग्रेस,कम्युनिष्टको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने उल्लेख गर्दै थापाले उनीहरुले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्‍ने दाबी गरे ।