सभामुख सापकोटा र भारतीय राजदूतबीच भेटवार्ता

सभामुख सापकोटा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ : भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।नेपालका लागि नवनियुक्त भारतीय राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो। नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्राकृतिक सम्बन्ध भएकोले सरकार—सरकार, संसद्—संसद् र जनता—जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।

भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए।
भारतीय राजदूत क्वात्राले दुई देशबीच व्यापक र गहिरो सम्बन्ध रहेको बताउँदै सभामुख सापकोटाको कार्यकालमा यो सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे ।उनलेशान्ति, विकास र समृद्धि नेपाल–भारत सम्बन्धमा गहिरो स्तम्भ भएको बताउँदै छलफलका माध्यमबाट दुई देशबीचका समस्या समाधान गर्न सकिने उल्लेख गरे ।