काठमाडौं। नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । एमालेको राष्ट्रिय महाधिवेशन यही मंसिर २७ गतेदेखि काठमाडौमा हुँदै छ ।
महाधिवेशनको तयारीलाई तीव्रताका साथ अगाडि बढाएको एमालेमा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएको छ । विवाद समाधानको प्रयासस्वरूप बिहीबार अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेताहरूबीच गुण्डुमा छलफल भएको छ ।
महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर विभिन्न जिल्लाहरूमा विवाद भएको सन्दर्भमा छलफल भएको सहभागी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।
ओखलढुंगा, चितवन, बाँके, बर्दिया, दाङ, सल्यान र डोटीसहित विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विवाद देखापरेको छ। यसबारे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित आफूहरूले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको उपाध्यक्ष पाण्डेले जानकारी दिएका छन्।
उपाध्यक्ष पाण्डेले भने, ‘महाधिवेशन घोषणा भइसकेपछि बनाइएको जनसंगठनबाट पनि महाधिवेशनका लागि प्रतिनिधि बनाएको अवस्था छ, यो कुनै हालतमा मान्य हुँदैन, यो कुरा अध्यक्षज्यूलाई भेटेर भनेका छौँ ।’ भेटमा ओखलढुंगासहित केही जिल्लामा छनोट भएका प्रतिनिधिलाई संगठन विभागले अस्वीकार गरेको र पुनः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएकोमा वरिष्ठ उपाध्यक्ष पोखरेल सहितका नेताले आपत्ति जनाएका हुन् ।
छलफलमा सहभागी पोखरेलनिकट एक नेताले भने, ‘शंकर पोखरेल निकटहरूले दाङमा एकलौटी गरेका छन् । सल्यानमा होटलमा बसेर प्रतिनिधि चयन गरिएको छ । त्यहाँका सदस्यहरूले उजुरी गरेका छन् । त्यसबारे केही पनि नगर्ने तर निर्वाचन प्रक्रियाबाट टुंगिइसकेका ठाउँमा पुनः निर्वाचन गर्न निर्देशन पठाइएको छ ।’
ओखलढुंगामा पाँच दिनभित्र निर्वाचन प्रक्रिया सुरु गर्न भने पनि त्यहाँको जिल्ला कमिटीले मतदान प्रक्रिया अघि बढाएको छैन । त्यहाँ १२ जना प्रतिनिधि निर्वाचित भएकामा सबै उपाध्यक्ष पोखरेल पक्षधर थिए ।
दाङ, सल्यानमा भने महासचिव पोखरेल पक्षधर चुनिएर आएका थिए । यसैबीच, नवगठित नेसनल भोलेन्टियर फोर्सबाट पनि महाधिवेशनमा प्रतिनिधि ल्याइएको भन्दै पोखरेलले आपत्ति जनाएका छन्।
ओलीनिवास गुण्डमा बिहीबार अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईलगायत नेताहरूबीच छलफल भएको हो । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेललाई सहमतिमा आउन ओली आग्रह गर्दै आउनुभएको छ । तर, पोखरेलले भने समूह नै बनाएर महाधिवेशनमा ओलीसँग भिड्ने तयारी गरेका छन्।