काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको छ।
महाधिवेशन व्यवस्थापन तयारीका विषयमा बुधबार सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा महासचिव शंकर पोखरेलसहितका नेताहरूबीच छलफल भएको छ। छलफलमा उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, तोकिएका संगठन विभागका प्रमुखसहित विभागीय प्रमुखहरू, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा व्यवस्थापन समिति सचिवालयमा रहेका अन्य नेताहरू सहभागी थिए।
महाधिवेशनका लागि जिल्ला र प्रवासहरूबाट प्राप्त प्रतिनिधिको सूचीलाई केन्द्रीय संगठन विभागले अन्तिम रूप दिने कार्य गरिरहेको बैठकमा जानकारी गराइएको छ। गत मंसिर १३ गते सबै मातहतका कमिटी र जनसंगठनमा देखिएका विवाद समाधान भएपछि प्रतिनिधि सूची पूर्णरूपमा केही दिनमै टुंगाे लाग्ने जनाइएको छ। ओखलढुंगा र धनकुटाका विवाद बाहेक अन्यका महाधिवेशन प्रतिनिधिको सूची तयार भइसकेको छ।
बैठकपछि उपमहासचिव ज्ञवालीले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए। महाधिवेशनमा करिब दुई हजार चार सय भन्दा बढी प्रतिनिधि सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ। देशभरका प्रदेश, जिल्ला, जनसंगठन तथा मोर्चा संगठनहरूबाट चयन हुने प्रतिनिधिहरूले नेतृत्वसम्बन्धी महत्त्वपूर्ण निर्णयमा सहभागी हुनेछन्।
महाधिवेशन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने कार्यक्रम छ।