काठमाडौं। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूहरुमाथि भएको आक्रमण प्रयासको निन्दा गरेका छन् । आज सुनसरीमा आफू सवार गाडीमा रातो मसी प्रहार भएको थियो ।
सो घट्नालाई लिएर बस्नेतले निन्दा गरेका हुन् । उनले लोकतन्त्रमा विरोधको पनि मर्यादा हुने भन्दै आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य नहुने भनेका छन् ।
उनले फेशबुकमार्फत भनेका छन्-
विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन। प्रहरीको तत्परताप्रति धन्यवाद। हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ। अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन। बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ।