सातै प्रदेशमा गाँजा विधेयक दर्ता गर्ने तयारी

सातै प्रदेशमा गाँजा विधेयक दर्ता गर्ने तयारी

काठमाडौं : गाँजा खेतीलाई वैधानिकता दिने सम्बन्धी विधेयक सबै प्रदेश सभामा दर्ता गर्ने तयारी भएको छ ।

संघीय संसदमा पूर्वकानुनमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले नेतृत्व गरेका छन् । उनले यही फागुन १९ गते प्रतिनिधि सभामा विधेयक दर्ता गरे । बागमती प्रदेशमा गाँजा खेती सम्बन्धी विधेयक दर्ता भइसकेको छ । बागमतीमा पूर्वमन्त्री केशव स्थापितले २० फागुनमा विधेयक दर्ता गरेका हुन् ।

सांसद तामाङका अुनसार बाँकी छ वटा प्रदेशमा पनि यससम्बन्धी विधेयक दर्ता गर्ने तयारी भइरहेको छ । ‘प्रदेशका माननीयहरू दर्ता गर्छु भनेर हानथाप गरिरहनुभएको छ । केही दिन भित्रै माननीयहरूको नाम टुङ्गो लाग्छ र सबै प्रदेशमा दर्ता हुन्छ’ सांसद तामाङले अनलाइनखबरसँग भने ।

संघलाई दवाव दिन प्रदेशमा विधेयक

संघीय संसदले गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी कानुन बनाउन ढिला नगरोस भन्ने दबाब दिन सबै प्रदेशमा यस सम्बन्धी विधेयक दर्ता गर्ने तयारी गरिएको नेताहरुको भनाइ छ । त्यसो त सम्बन्धित प्रदेशले मात्रै पनि गाँजा खेती वैधानिकता दिन नसक्ने होइन । अमेरिकाको पुरै देशमा गाँजा खेती वैध छैन । तर, बिभिन्न ३५ वटा राज्यले कानून बनाएर गाँजा खेती खुला गरेका छन् ।

नेपालमा भने सबै प्रदेशमा गाँजा खेतीलाई वैधता दिने गरी कानून बनाउन लागिएको सांसद तामाङले बताए । प्रदेश सांसद स्थापित गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी कानूनका पक्षमा हस्ताक्षर अभियान चलाउने, बहस समूह गठन गरेर यसको सकारात्मक पक्षको फैलावट गर्ने लगायतका कार्य समेत सुरु भइसकेको बताए ।

छैन पार्टीमा छलफल

पूर्वकानूनमन्त्री शेरबहादुर तामाङको नेतृत्वमा सबै प्रदेशमा गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी विधेयक दर्ता गर्न तयारी भएको भएपनि यो विधेयक ल्याउने सन्दर्भमा सत्तारुढ नेकपामा भने पर्याप्त छलफल भएको पाइएको छैन । तामाङले गैरसरकारी विधेयकको रुपमा संसदमा दर्ता गरेका हुन् ।

सांसदलाई गैरसरकारी विधेयक गर्ने अधिकार छ । यस्तो विधेयक ल्याउँदा सम्बन्धित पार्टीमा छलफल हुनैपर्छ भन्ने पनि छैन । तर, पार्टीको समर्थन नभई विधेयक पारित हुने सम्भावना भने देखिँदैन । किनभने विधेयकमा बहुमत सांसदहरूको समर्थन चाहिन्छ । तर, तामाङले यो पाटोलाई भनेर ख्याल नगरेको कतिपय नेताहरुले बताएका छन ।

केही समय अघि नेकपाकै सांसद विरोध खतिवडाको नेतृत्वमा प्रतिनिधि सभामा गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावमा अधिकांश ग्रामिण क्षेत्रका सांसदहरूले समर्थन जनाएको देखिन्छ । तर, यो खतिवडाको समूहसँग समेत सांसद तामाङले विधेयक दर्ता गर्दा छलफल नगरेको नेकपाका नेताहरू बताउँछन ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले पनि विधेयक दर्ता हुनु अघि छलफल नभएको बताए । ‘विधेयक आएको छ अब छलफल होला यसअघि यस सम्बन्धमा केही भएको छैन’ गुरुङले भने ।

सांसद तामाङ भने पार्टीमा छलफल भएको दाबी गर्छन् । उनी भन्छन्, ‘छलफल भएकै हो, सबैसम्म पुग्यो पुगेन आफ्नो ठाउँमा छ । मेरो विश्वास त अब सरकारले स्वीकार गरेर यो विधेयक सरकारी विधेयककै रुपमा अगाडि बढ्ने विश्वास छ ।’

गाँजालाई वैध बनाउनुपर्ने पक्षका सांसदहरूले दर्ता भएको विधेकलाई सरकारी विधेकका रुपमा स्वीकार गरियोस भन्दै निवेदन समेत दिने तयारी गरेका छन । ‘गाँजा खेतीलाई वैधानिकता दिने सम्बन्धी विधेयकमा सरकारी विधयकको मान्यता दिन माग गर्दै निवेदन दिने तयारी भएको छ’ बागमति प्रदेशका सांसद स्थापितले जानकारी दिए ।

संघीय संसदमा र बागमती प्रदेशमा दर्ता भएको विधेयकमा भने गाँजा सेवन गर्न विदेशीलाई दिने नेपालीलाई नदिने सम्बन्धी व्यवस्था छैन । प्रस्तावित विधेयकमा औषधीय प्रयोगमै जोड दिइएको छ ।

प्रस्तावित विधेयकमा नराखिएको भए पनि गाँजा सेवनको विषयमा निश्चित क्षेत्र तोकेर विदेशीको हकमा खुला गर्ने विषयमा बहस गर्ने सांसद तामाङको प्रतिक्रिया छ । बागमती प्रदेशका सांसद स्थापित भने कानून बनाएर विदेशीलाई नेपालमा गाँजा खान आउनका लागि आव्हान गर्नुपर्ने बताउँछन । कानून बनाएर गाँजा खान नेपाल आउन विश्वलाई आव्हान सकिने उनको भनाइ छ ।विदेशीलाई मात्रै नभएर मापदण्ड बनाएर नेपालीलाई पनि गाँजा खान दिनुपर्ने स्थापितको माग छ ।