घरमै आराम गर्दै प्रचण्ड, निकटस्थहरुसंगमात्र भेटघाट

घरमै आराम गर्दै प्रचण्ड, निकटस्थहरुसंगमात्र भेटघाट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएकै दिनदेखि सत्तारुढ नेकपा अध्यक्ष प्रचण्ड पनि घर बाहिर निस्किएका छैनन् ।

ओलीको मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अघिल्लो दिन अर्थात गत मंगलबार शिक्षण अस्पताल पुगेका प्रचण्ड त्यसयता कतै ननिस्किएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रचण्ड ओलीलाई भेट्न अस्पतालमा आउँदा पनि सामान्य रुघाखोकी लागेको देखिएको अ‍ोलीको सचिवालयका सदस्यहरुले बताए । त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो । मिर्गौला पुनः प्रत्यारोपणपछि अधिकांश नेताहरु अस्पताल गए पनि प्रचण्ड भने घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

रुघाखोकी र सामान्य ज्वरो आएपछि अध्यक्ष प्रचण्डले भेटघाट पनि कम गरेका छन् । केही नेताहरुसँग र निकटस्थहरुसँगमात्र उनले भेटघाट गरिरहेका छन् । कोरोना संक्रमणको जोखिमका कारण नेकपाले प्रदेश भेला लगायत पार्टीका सबै कार्यक्रमहरु स्थगित गरेकाले पनि सार्वजनिक कार्यक्रममा जानु नपरेकाले उनी आराममा बसेका हुन् ।

प्रचण्ड निकट एक नेताले भने ‘उन विरामी परेर सुत्नुनै भएको चाहिँ होइन तर अहिले सार्वजनिक कार्यक्रमहरु पनि नभएका र पार्टीका भेलाहरु पनि स्थगित गरिएकाले आराम गर्ने मौका मिलेको हो । यद्यपी कतिपय भेटघाट र छलफलहरु रोकिएका छैनन् ।