काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (एमाले)ले प्रदर्शन सुरु गरेको छ। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेले मंगलबार देशभरका स्थानीय तहमा प्रदर्शन गरेको हो।
एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत मंगलबार देशभरका विभिन्न पालिकामा मोटरसाइकल र्यालीसहित नारा जुलुस गरिएको थियो। प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गरिएको एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिए।
प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाइएको उनले बताए। संसद् पुनःस्थापनाको माग गर्दै एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंको वसन्तपुर क्षेत्रमा जनप्रदर्शन तथा सद्भाव र्याली निकालेको थियो। प्रदर्शनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र पूर्वमेयर विद्यासुन्दर शाक्यलगायत पनि सहभागी थिए।
प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शन गर्ने एमालेको तयारी छ ।
वडा र पालिकामा प्रदर्शन सकेर एमालेले जिल्ला र राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने कार्यक्रम छ। एमालेले कात्तिक २९ गते जिल्लास्तर र आगामी मंसिर ६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।
यसअघि कात्तिक २२ गते देशका ६ हजार ७४३ वटै वडामा वडा भेला भइसकेका छन्। भेलामा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसद्को गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरूलाई प्रष्ट पारिएको थियो।
प्रदर्शन भव्य बनाउन हरेक सहभागीले एमालेको झण्डासहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रदर्शन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रदर्शनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरूलाई एमालेले निर्देशन गरेको छ।
जनप्रदर्शनका तस्वीर, भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा सेयर गर्न र सञ्चार माध्यमहरूमा पठाउन पनि एमालेले यसअघि नै पार्टी महासचिव शंकर पोखरेलले निर्देशन गरिसकेका छन्।
गत भदौ २३ र २४ गतेको भएको ‘जेन-जी’ आन्दोलन उग्र बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। राजीनामापछि उनलाई सुरक्षाका लागि सेनाले लगेको थियो । त्यसपछि संसद् विघटन गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
सरकारले आगामी फागुन २१ गते चुनाव घोषणा गरेको छ । एमालेले भने प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटनलाई असंवैधानिक दाबी गर्दै आएको छ । एमाले त्यही दल हो, जसको नेतृत्वमा दुई/दुईपटक संसद् विघटन गरेको थियो तर, अहिले एमाले नै संसद् विघटनका विपक्षमा उभिएको छ ।
२०७४ सालको निर्वाचनपछि तत्कालीन एमाले र माओवादी सहितको सरकारको नेतृत्व केपी शर्मा ओलीले गरेका थिए। झण्डै दुई तिहाइको सरकार रहेकै बेला ओलीले पार्टीभित्रको असन्तुष्टिले दुई/दुईपटक संसद् विघटन गरेका थिए। तर, सर्वोच्च अदालतले दुवैपटक विघटन असंवैधानिक ठहर गर्दै पुनःस्थापित गरिदिएको थियो ।
एमालेले विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएको छ । मंसिर २ गते बस्नेगरी विघटित प्रतिनिधिसभा संसदीय दलको बैठक बोलाइएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए। उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
समसामयिक राजनीतिक अवस्था र निकासको निम्ति छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको उनले बताए। एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आएको छ । पार्टी बैठक बसेरै एमालेले संसद् पुनःस्थापनाका लागि पहल गर्ने निर्णय गरेको छ ।
विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक संसद् पुनःस्थापनाका लागि हस्ताक्षर संकलन गर्ने गरी बोलाइएको बुझिएको छ । एमालेले संसद् पुनःस्थापनाको लागि न्यायालयको ढोका ढकढक्याउने र सडक तताउने निर्णय गरेको थियो ।
हिमालय टाइम्स दैनिकबाट