प्रधानमन्त्री स्वास्थ्यमा क्रमिक सुधार, चिकित्सकबाहेक धर्मपत्नीले सम्म पाइनन् भेट्न

प्रधानमन्त्री स्वास्थ्यमा क्रमिक सुधार, चिकित्सकबाहेक धर्मपत्नीले सम्म पाइनन् भेट्न

काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्‍य यही गतिमा सुधार हुँदै गएमा अबको केही दिनमै डिस्चार्ज गरिने चिकित्सकहरूले बताएका छन्।

हाल ओलीको प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गरिरहेको प्रधानमन्त्री ओलीका निजी चिकित्सक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा दिव्या सिंह शाहले बताइन्। उनले भनिन्,ुउहाँको मुख्‍य स्वास्थ्य सूचक राम्रो छ। चिकित्सकको उच्‍च निगरानीमा आइसियुमा राखिएको छ।ु संक्रमणको जोखिम हुने भएकाले प्रधानमन्त्री ओलीलाई अस्पतालको आसियुमा चिकित्सकहरूको उच्‍च निगरानीमा राखिएको उनको भनाइ छ।

चिकित्सकबाहेक अरूले भेटेका छैनन् प्रत्यारोपण गरिएका व्यक्तिलाई संक्रमणको जोखिम बढी हुने भएकाले प्रधानमन्त्री ओलीलाई हाल चिकित्सकहरूले उच्च निगरानीमा राखेका छन्। संक्रमणबाट जोगाउन प्रत्यारोपण गरेको आज चौथो दिनसम्म पनि चिकित्सकहरूले उपचारमा संलग्‍न चिकित्सक र निजी चिकित्सकबाहेक अरूलाई भेटघाट गर्न दिएका छैनन्। जसले गर्दा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि अहिलेसम्म भेट्न पाएकी छैन।

प्रत्यारोपण गरिएको बिरामीलाई अगंदान गर्ने व्यक्तिले भेट्न इच्छा देखाए चिकित्सकहरूले भेट्न दिने भए पनि प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने भाञ्‍जी समीक्षा संगौला ज्ञवाली पनि अहिले शिक्षण अस्पतालमै आराम गरिरहेकाले अहिलेसम्म उनले पनि भेट्न पाएकी छैनन्। प्रधानमन्त्री ओलीलाई हिजोदेखि फिजियोथेरापी गराउनुका साथै सामान्य हिँड्डुल गराउने ठोस् खानेकुरा दिन सुरु गरिएको चिकित्सकहरूले बताएका छन्।

एक महिनासम्म उच्च निगरानी अहिलेकै अवस्थामा स्वास्थ्यमा सुधार भइरहेमा केही दिनमै प्रधामन्त्री ओली डिस्चार्ज भएर बालुवाटार जान सक्ने चिकित्सकहरूले बताएका छन्। डिस्चार्ज भए पनि संक्रमणको उच्च जोखिम रहने हुँदा प्रधानमन्त्री ओलीले एक महिनासम्म स्वास्थ्य सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन्।

बालुवाटार फर्केपछि सामान्‍य मिटिङहरूमा सहभागी हुन मिल्‍ने भए पनि कडा खालको औषधि एक महिनासम्‍म चलाइरहनुपर्ने चिकित्सकहरूले बताएका छन्। संक्रमणको उच्च जोखिम हुने भएकाले एक महिनासम्म प्रधानमन्त्री ओली बाहिरको कार्यक्रमहरू र भिडभाडमा नगई घरमै आराम गर्नेछन्।