राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्न ओलीमाथि दवाब बढ्दो

राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्न ओलीमाथि दवाब बढ्दो

काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय समिति बैठकमा सदस्यहरुले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नरोक्न र राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दवाब दिएका छन् ।

केन्द्रीय समितिमा अध्यक्ष अ‍ोलीले राखेको प्रस्तावमाथि धारणा राख्दै केन्द्रीय सदस्यहरु रचना खड्का, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह, ममता गिरीलगायतले पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिन दवाब दिएका हुन् । उनीहरुले ओलीलाई पार्टी अध्यक्षबाट मार्ग प्रशस्त गर्नका लागि पनि सुझाव दिएका छन् ।

गत भदौको २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको बहस चर्किएको छ । पछिल्लो पटक बसेको एमाले सचिवालय बैठकमा पनि बहुमत सदस्यले ओलीले नेतृत्व छाड्नुपर्ने धारणा राखेका थिए । उक्त मागले केन्द्रीय समितिमा पनि निरन्तरता पाएको छ ।

उनीहरुले नेतृत्वको निरन्तरता अबको निकास नहुने भन्दै समयको पदचाप बुझ्न अध्यक्ष ओलीलाई भनेका छन् । यद्यपि केन्द्रीय समितिमा ओलीले आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् ।

हिजोदेखि बसिरहेको एमाले केन्द्रीय समितिमा हिजो ५० जनाले अध्यक्ष ओलीको प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए । आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । हिजो धारणा राख्ने केही केन्द्रीय सदस्यहरुले पनि पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिनुपर्ने र ओलीले अध्यक्षबाट राजीनामा दिएर अभिभावकीय भूमिकामा बस्नुपर्ने बताएका थिए ।