काठमाडौं। सर्वोच्च अदालतले आगामी असोज २८ गतेदेखि रिट निवेदन र केही अन्य कानूनी निवेदनको दर्ता र सुनुवाइ सुरु गर्ने भएको छ । जेन–जी आन्दोलनका क्रममा आगलागी भएपछि रोकिएको न्यायिक कार्य सर्वोच्चले क्रमशः सुरु गर्न लागेको हो । जेन–जी आन्दोलनपछि सर्वोच्चले अहिले बन्दीप्रत्यक्षीकरणको मुद्दामात्रै हेरिरहेको छ ।
‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदन मिति २०८२ असोज २८ गतेदेखि दर्ता र सुनुवाइ हुनेछन्,’– सर्वोच्चका प्रवक्ता एवं सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी सूचनामा भनिएको छ ।
जेन–जी आन्दोलनका क्रममा सर्वोच्चमा आगलागी हुँदा अदालतको भवन, कागजात र अभिलेखमा क्षति पुगेको छ । सर्वोच्चले रिटलगायत अन्य केही मुद्दा दर्ता गर्ने भएपछि संसद् विघटन र प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध रिट पर्ने निश्चितप्रायः छ । नेकपा (एमाले) ले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सबै प्रकारका कानूनी बाटो प्रयोग गर्ने बताइसकेको छ । नेपाली कांग्रेसले पनि संसद् पुनर्स्थापनाको ढोका बन्द नभएको बताएको छ ।
कानून व्यवसायीमार्फत संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च जानेकी एमालेले पार्टीगत रुपमा जाने भनेर हाल छलफल भइरहेको बताइएको छ ।