काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनमा भाग लिनको लागि सबैलाई आह्वान गरेकी छिन् ।
आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला सबैलाई सक्रिय सहभागिताको लागि आह्वान गरेकी छिन् । निर्वाचन सम्पन्न हुन शान्तिपूर्ण वातावरण हुन जरुरी रहेको भन्दै सबै नेपालीलाई धैर्यतापूर्वक शान्ति कायम राख्न पनि उनको आग्रह छ ।
सो क्रममा उनले आफू नेतृत्वको सरकारलाई संविधान संशोधन र शासकीय स्परुप फेर्ने अधिकार नभएको स्पष्ट पारिन् । प्रधानमन्त्री कार्कीले भनिन्,‘‘६ महिने कार्यकाल रहेको सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था छैन । तैपनि हामी कतिसम्म गर्नसक्छौं त्यसको इमानदार प्रयास गर्नेछौँ । नेपालको संविधान र शासकीय स्वरूपबारे जेनजी पुस्ताले आन्दोलनको क्रममा उठाएको विषय वर्तमान सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय हो ।’
भ्रष्टाचार न्यूनीकरणको लागि वर्तमान सरकारले दृढतापूर्वक काम गर्ने पनि उनको भनाई छ । सेवाग्राहीसँग अपमानजनक काम भए उजुरी दिनपनि उनले आग्रह गरिन् ।