काठमाडौं। नेपाली कांग्रेसका पाँच शीर्ष नेताहरु छलफलमा जुटेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहको अग्रसरतामा पाँच नेता आज ठमेल, चाक्सीबारीमा भेला भएका हुन् । जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा गठित सरकार, फागुन २१ गतेको लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन र पार्टीको महाधिवेशनको विषयमा केन्द्रित भएर नेताहरु छलफलमा जुटेका हुन् ।
महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनको लागि आवाज उठाउन थालेका छन् । गगनले त हिजो पार्टी रुपान्तरणको लागि तयार हुनुपर्ने सन्देश प्रवाह गरेका छन् । कतिपयले सभापति शेरबहादुर देउवा अस्पतालको शैय्यामा रहेको बेलामा थापाले हतारको राजनीति गरेको भनेर आक्रोश पोखेका छन् ।
आजमात्रै प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलनको आयोजना गरेर अहिले सभापति अस्पतालमा हुँदा नेतृत्व परिवर्तनको बहस गरिनु गलत हुने धारणा राखेका छन् । यही सन्दर्भमा अहिले चाक्सीबारीमा नेताहरु छलफलमा जुटेका हुन् । छलफलमा प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत सहभागी छन् ।