काठमाडाैं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राज्यपक्षबाट भएका कमजोरी र जिम्मेवारी तोक्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने तयारी थालेको छ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार आयोग गठनको प्रस्ताव चाँडै मन्त्रिपरिषद्मा पेस गरिने छ। “अब हुने पहिलो क्याबिनेट बैठकबाटै यसबारे निर्णय हुनेछ,” उनले बताए।
मन्त्रालयले आयोग गठनका लागि विज्ञहरूको सूची तयार गरी प्रारम्भिक छलफल गरिसकेको छ। साथै आयोगको कार्यक्षेत्र (टीओआर)समेत तय भइसकेको स्रोतको भनाइ छ।
आयोगको नेतृत्व विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गर्ने सम्भावना बढी रहेको बताइएको छ। कार्कीको नेतृत्वमा बन्ने आयोग तीन सदस्यीय हुने र अन्य सदस्यहरूको नाम पनि लगभग टुंगो लागेको जनाइएको छ।
यसअघि नेपाली सेनाको सहजीकरणमा जेनजीसँग भएको वार्तापछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाएका छन्। प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गरेसँगै बसेको पहिलो बैठकले आन्दोलनका क्रममा भएको दमन छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो।