काठमाडौं । नेपालकी प्रधानमन्त्री सुशीला कार्की र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भिडियोमार्फत संवाद हुने भएको छ।
यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा उनले भारतले नेपालमा विकास, पुनर्निर्माण र स्थिरतामा निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यो सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री कार्कीले सो अवसरमा पारस्परिक चासोका विषयमा भारतीय प्रधानमन्त्रीसँग विस्तृत छलफल गर्ने इच्छा व्यक्त गरेकी थिइन्। त्यसअनुसार आज दुवै प्रधानमन्त्रीबीच प्रत्यक्ष संवाद हुने भएको हो।
मोदीले यसअघि कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त भएको अवसरमा बधाई दिँदै नेपालको असामान्य परिस्थितिमा नागरिक सरकार गठन हुनुलाई सकारात्मक रूपमा लिएको बताएका थिए।