पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने-नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ

पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने-नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ

काठमाडौं। नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ। जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको हो।

आज पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेपछि प्रचण्डले भने, ‘क्षति त पुर्‍याइयो, पुग्यो, तर म के भन्न चाहान्छु भने अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने छ।’ पार्टी कार्यालय कहाँ बनाउने भनेर उनले खुलाएनन्।

अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए । ती जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिए। जेनजी आन्दोलन प्रचण्ड सार्वजनिक भएको आज पहिलोपटक हो । उनलाई सेनाले सुरक्षा दिएर राखेको थियो । केही दिनअघि मात्रै सेनाको ब्यारेकबाट बाहिर आएका उनी आफन्तको घरमा बस्दै आएका छन्।

जेनजी प्रदर्शनको क्रममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवासमा पनि आगजनी भएको छ । उनका छोरीहरु गंगा र रेनुसहित पार्टीका अरु नेताहरुको घरमा पनि आगजनी र तोडफोड भएको छ ।

आज पार्टी कार्यालय पुगेर प्रचण्डले सरसफाइमा सहभागी कार्यकर्ताहरुलाई केहीबेर साथ दिएका थिए । त्यसपछि शहीद स्तम्भमा माल्यार्पण गरेका थिए ।