रास्वपाले भन्यो : हाम्रा सदस्य कुनै हिंसात्मक गतिविधिका लागि उत्प्रेरित र निर्देशित छैनन्

रास्वपाले भन्यो : हाम्रा सदस्य कुनै  हिंसात्मक गतिविधिका लागि उत्प्रेरित र निर्देशित छैनन्

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जेन–जीको आन्दोलनमा भएको आततायी दमन र क्रुर हत्याको दोषीहरुमाथि आवश्यक छानबिन गरी कानूनी कारबाही सुनिश्चित् गरिनुपर्ने माग गरेको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले आज एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । उनले रास्वपा सदैव लोकतन्त्र, सुसंस्कृत र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट पारेको छ । झाले आफ्नो दलको कुनैपनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने नीति रहेको पनि सुनाए।

जेनजीको प्रदर्शन घोषणालगतै भदौ २२ गते नै आफूहरुले विज्ञप्तिमार्फत् जेनजीले उठाएका मागहरुलाई यथोचित सम्बोधन गर्न अपिल गर्दै जेनजीको शान्तिपूर्ण प्रदर्शनलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकारलाई खबरदारी गरेको पनि उनले स्मरण गराए।

साथै, पछिल्लो पुस्ताको सडक प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्धलगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी शान्तिपूर्वक ऐक्यबद्धता जनाउन आग्रह गरिएको झाको भनाई छ ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टी विधिको शासन, कानूनी सर्वोच्चता र शान्तिपूर्ण राजनीतिक अभियानमा प्रतिबद्ध छ । हाम्रा सदस्यहरु कुनै पनि खाले हिंसात्मक गतिविधिका लागि उत्प्रेरित र निर्देशित नरहेको प्रष्ट पार्न चाहान्छौं । बर्बर दमन एवं नरसंहारबाट उत्पन्न असामान्य आवेग इतर शान्तिपूर्ण प्रदर्शनको अवसर छोपी नियतवश सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनीजस्ता आपराधिक गतिविधि संलग्न जोकोहीलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिनुपर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यस प्रक्रियामा पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौं ।’