काठमाडौं। पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित जंगी अड्डा भद्रकाली पुर्याएको छ। अर्कातिर विवादित राजावादी दुर्गा प्रसाईं पनि सैनिक सुरक्षासहित जंगी अड्डामा पुगेका छन् । अहिले उनीहरू जंगीअड्डामा पसेपछि गेटबाहिर जेन-जी र मिडियाकर्मीको ठूलो भिड लागेको छ।
बुधबार पाँच घण्टासम्म भएको जेन-जीको भर्चुअल बैठकले सुशीलालाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो। तर, काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङको पक्षमा पनि जंगीअड्डाबाहिर नाराबाजी भएको थियो।
यद्यपि काठमाडौँका मेयर बालेन्द्रले सुशीलालाई समर्थन गरिसकेका छन् । अहिले जंगीअड्डाबाहिर जम्मा भएको भिडले चर्को नाराबाजी गरिरहेको छ।
रिपोर्टिङका लागि आएका भारतीय मिडिया र नेपाली सञ्चारकर्मीबीच भनाभन भएको छ। विवाद बढेपछि अहिले सेनाले माइकिङ गरेर भिडलाई हटाउन खोजिरहेको छ।