‘जेन-जी’को प्रदर्शनमा सरकारको बर्बर दमन

‘जेन-जी’को प्रदर्शनमा सरकारको बर्बर दमन

काठमाडौ । नेपालको युवापुस्ता ‘जेनेरेसन-जी’ अर्थात् जो कम्तीमा १३ वर्षदेखि बढीमा २८ वर्ष पुगेका छन्, तिनले सरकारविरुद्ध चलाएको आन्दोलन पहिलो दिनमै नेपालको इतिहासकै सबैभन्दा हिंस्रक बन्न पुगेको छ ।

जेन-जीको आन्दोलनको पहिलो दिन धेरै नवयुवाले प्राण उत्सर्ग गर्नुपरेको हो । जेन-जी पुस्ताको आन्दोलनमा सरकारले क्रूर दमन गर्दा अकल्पनीय क्षति भयो । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रेको युवामाथि सरकारले चर्को दमन गर्दा ठूलो मानवीय क्षति भएको हो । जुन अहिलेसम्म नेपालमा भएको प्रदर्शनमा सुरुकै दिन भएको ठूलो मानवीय क्षति हो ।

सोमबार काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको युवाहरूको शान्तिपूर्ण आन्दोलन नयाँ बानेश्वर पुगेपछि हिंसात्मक बनेको थियो । प्रदर्शनकारीले संसद् भवन प्रवेश गर्न खोज्ने, भित्रै आगजनी गर्ने र मुख्य गेट भत्काउन खोजेपछि प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो ।

केही समूह संसद् भवनतिर लागेर गेटमा आगो लगाउने, गेटमाथि चढेर संसद् भवनभित्रै प्रवेश गर्ने प्रयास गरेपछि अश्रुग्यास हुँदै सुरक्षाकर्मी हवाई फायरको चरणसम्म पुगेका थिए । पछि गोली नै चलाइएको थियो । त्यसपछि बानेश्वर रणमैदान बनेको हो ।

प्रहरीको गोली लागेर सोमबार अबेर रातिसम्म दुई दर्जन बढीको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । विद्यालयका झोलासमेत बोकेर आन्दोलनमा सरिक केहीको टाउकामै गोली लागेको भिडियो सामाजिक सञ्जालभरि ‘भाइरल’ छन्, जसमा कलिला युवामाथि प्रहरीले गोली बर्साएको देखिन्छ ।

मन्त्रालयका अनुसार घाइतेको संख्या पनि ३४० भन्दा बढी छ । काठमाडौंमा विभिन्न अस्पताल युवा आन्दोलनकारीले भरिभराउ छन् । त्यसमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ ।

जेन-जीको यो आन्दोलन न कुनै राजनीतिक वादबाट प्रेरित थियो न कुनै राजनीतिक दलले हाँकेको थियो । आन्दोलन जसरी सुरु भए पनि आन्दोलनमा अपार जनसमर्थन जुट्यो । जेन-जी पुस्ताले एकै दिनमा सरकारलाई जगैदेखि हल्लाइदिएको छ ।

विद्यालय र कलेजको ड्रेसमै आएका जेन–जी सामाजिक सञ्जालबाटै क्याम्पेन गरेर स्वःस्फूर्त रूपमा विरोध प्रदर्शनमा आएका थिए । आन्दोलनमा घुसपैठ हुन नदिन उनीहरूले युवा समूहलाई कलेज ड्रेसमा आन्दोलनमा घुसपैठ भएको जेन-जीको आशंका छ ।

आन्दोलनमा दुर्गा प्रसार्इं समूह, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत केही व्यक्तिहरूले पनि समर्थन गरेका थिए । रास्वपा सभापति रवि लामिछानेले जेलबाटै आन्दोलनमा ऐक्यबद्धता रहेको सन्देश जारी गर्नुभएको थियो । कांग्रेस नेता शेखर कोइरालाले जेन-जीको आवाजअनुसार दलहरू सच्चिनुपर्ने मत राखेका राखेका थिए।

आन्दोलनमा उनीहरूको पनि घुसपैठ हुनसक्ने जेन-जीको आशंका छ । आन्दोलन हिंसात्मक बनेपछि आन्दोलनको नेतृत्व गरिरहेका युवाहरूले जेन-जीलाई घर फर्किन आह्वान गरेका थिए । यसअघि गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईंकै अगुवाइमा भएको आन्दोलन पनि हिंसात्मक बनेको थियो ।

जेन–जीले सोमबार काठमाडौंसहित देशका मुख्य-मुख्य सहरमा प्रदर्शन गरेका थिए । यसअघि नेपालमा भएका ठूला आन्दोलन प्रमुख दलहरूको अगुवाइमा हुने गरेका थिए र सहभागीहरू पनि राजनीतिक व्यक्ति हुने गरेका थिए । तर, जेन-जीले पहिलोपटक गरेको यति ठूलो प्रदर्शनमा ठूलो क्षति भएको हो ।

यस्तै, आन्दोलन विश्वका अन्य देशमा पनि भइरहेका छन् । ‘ग्लोबल प्रोटेस्ट ट्र्याकर’का अनुसार पछिल्लो एक वर्षको अवधिमा विश्वका १४७ राष्ट्रमा सरकारविरुद्ध प्रदर्शन भएका छन् । तीमध्ये ७० भन्दा बढी राष्ट्रमा सरकारविरुद्ध ठूलै आन्दोलन भयो भने अहिले ३३ मुलुकमा कुनै न कुनै स्वरूपमा सक्रिय आन्दोलन जारी छ । आन्दोलन भएका मुलुकहरूका एजेण्डा समान छन् ।

आन्दोलनकारीहरू राजनीतिक सुधारको माग गरेर सडकमा छन् । यस्ता आन्दोलनमा कहीँ न कहीँ जोडिएका छन्, जेन-जी पुस्ता । यस वर्ष जेन-जी पुस्ताको आन्दोलन अफ्रिकी मुलुकहरूमा निकै चर्किएको थियो । केन्या, घाना, युगाण्डा, नाइजेरिया, मोजाम्बिकमा यो पुस्ताले सशक्त आन्दोलन गरेको थियो । जेन-जीले युरोपेली मुलुक सर्बियामा पनि आन्दोलन चर्काएका थिए ।

आन्दोलनमा घुसपैठ भयो, शान्तिपूर्ण संघर्ष जारी रहन्छ : जेन-जी आन्दोलन
 

जेन–जी मुभमेन्ट नेपालले सूचना जारी गर्दै आन्दोलनमा घुसपैठ भएको जनाएको छ । ‘हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो । न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ जबरजस्ती प्रवेशको प्रयासले प्रभावित भयो । तर, स्पष्ट पार्न चाहन्छौँ, यो हाम्रो मूल उद्देश्य कहिल्यै थिएन,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, जेन-जीले शान्तिपूर्ण संघर्ष गर्ने जनाएको छ । ‘जेन-जीको आवाज अझै पनि शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै हो । हाम्रो आन्दोलन भवन वा संस्थाविरुद्व होइन । भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र विश्वासघातविरुद्ध हो,’ सूचनामा थप भनिएको छ, ‘सम्पूर्ण नागरिक, नेपाल प्रहरी, विश्व समुदायलाई स्पष्ट सन्देश छ । केही व्यक्तिहरूका कार्यलाई यो पुस्ताको आवाज ठान्ने गल्ती नगर्नुहोस् । हाम्रो आवाज चोइटिन सक्दैन । नत अपहरण गरिन सकिन्छ । हामी शान्तिको पक्षमा छौँ । हामी न्यायका पक्षमा छौँ । हामी भविष्यको पक्षमा छौँ ।’

आन्दोलनमा अकल्पनीय क्षति
 

काठमाडौंमा भएको जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर सोमबार रातिसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । काठमाडौंको ट्रमा सेन्टरमा मात्रै सात जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । जेन-जी पुस्ताका युवाहरूले सोमबार गरेको प्रदर्शनमा गोली लागेर घाइते भएका सात जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरूमध्ये चार जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा कालीकोट खाडाचक्र नगरपालिका-१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं र कीर्तिपुर नगरपालिका-२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन्। श्रेष्ठ र चौलागाईंको टाउकोमा गोली लागेको थियो । पवन शाहीको पेटमा गोली लागेको ट्रमा सेन्टरका एकजना चिकित्सकले जानकारी दिएका छन् । सुनसरी घर भएका करिब २९ वर्षीय पुरुषको सनाखत भएको छैन ।

त्यस्तै, दुईजना पुरुषको सनाखत हुन सकेको छैन । बानेश्वरको एभरेस्ट अस्पतालमा पाँच जनाको मृत्यु भएको छ । उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये तीन प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यस्तै, काठमाडौं मेडिकल कजेल (केएमसी) मा तीन जनाको मृत्यु भएको छ । जसमा शौरभ किशोर श्रेष्ठ र सुवास पोखरेलको पहिचान भएको छ । त्यस्तै, महाराजगञ्जस्थित शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुनसरीको इटरहरीमा गोली लागेर दुईजना प्रदर्शनकारीको मृत्यु भएको छ । जेन–जीहरूले इटहरीमा गरेको प्रदर्शन उग्र भएपछि प्रहरीले गोली चलाएको बताइएको छ । मृतकहरूको परिचय खुलेको छैन । मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छन् ।

अहिले काठमाडौंका विभिन्न अस्पतालमा ३४० बढी घाइतेको उपचार भइरहेको छ । घाइतेहरूको एभरेस्ट, ट्रमा सेन्टर, सिभिल, केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका सरकारी र निजी गरी सात अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये २२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । मन्त्रालयमा अनुसार सबैभन्दा बढी निजामती कर्मचारी (सिभिल) अस्पतालमा एक सयजना घाइतेहरूको उपचार भइरहेको छ ।

निजामती कर्मचारी अस्पतालका मेडिकल निर्देशक दीपक पौडेलका अनुसार धेरै घाइतेहरूलाई रबरको गोली लागेको छ । घाइतेको संख्या धान्न नसकिने गरी अत्यधिक भएको भन्दै सिभिल अस्पतालले केही घाइतेलाई अन्य अस्पताल पठाएको थियो । यस्तै, ट्रमा सेन्टरमा ५० जनाको उपचार भइरहेको छ, तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।

एभरेस्ट अस्पतालमा ३४, पाटन अस्पतालमा चार जना गम्भीर घाइते छन् । काठमाडौं मेडिकल कलेज (केएमसी)मा ४१ जनाको उपचार भइरहेको छ । केएमसी अस्पतालमा उपचाररत आठ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । त्रिवि शिक्षण अस्पतालमा २४ जना घाइतेमध्ये आठ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, पोखरामा जेन-जीको प्रदर्शनका क्रममा ३० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले भने, ‘सुरक्षा निकाय र प्रदर्शनकारी दुवैतर्फ मानिसहरू घाइते भएका छन् ।’

बानेश्वर क्षेत्रमा जेन-जीको प्रदर्शन र अस्तव्यस्त सवारीका कारण विद्यार्थी अबेरसम्म घर फर्किन पाएका थिएनन् । प्रहरीले फोन गरेर विद्यार्थीलाई होल्डमा राख्न विद्यालयहरूलाई भनेको थियो । आन्दोलनका कारण अभिभावक पनि आफ्ना बालबालिकालाई लिन विद्यालयसम्म पुग्न सकेका थिएनन् ।