काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने बाटो खोल्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ ।
नवौं र १०औं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका उनी पारित विधानअनुसार अब तेस्रो कार्यकालका लागि पनि अध्यक्ष हुने बाटो खुलेको हो । एमालेले विधानमा रहेको ७० वर्षे उमेर हदलाई समेत हटाएका कारण अब ओलीलाई उमेरहदले समेत छेक्दैन ।
शुक्रबारदेखि तीन दिनसम्म चलेको विधान महाधिवेशनले प्रस्तावित विधानसहित सबै प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।
महाधिवेशनमा ओलीको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान मस्यौदा र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव पारित भएको हो ।
महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले पेस गरेको प्रतिवेदन पनि पारित भएको छ ।
पारित विधानमा ७० वर्षे उमेर हदम्याद हटेको छ । पालिकादेखि केन्द्रसम्म पदाधिकारीमा दुई कार्यकाल रहने व्यवस्था हटाइएको छ । यही व्यवस्थाका कारण ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष हुन अवरोध गरिरहेको थियो । पारित विधानअनुसार दुई कार्यकाल अध्यक्ष र ७४ वर्ष उमेर पुगेका ओली अब सहजै अध्यक्ष हुन पाउनेछन् ।
सचिवालय र वरिष्ठ उपाध्यक्षको पद खारेज
पारित विधानअनुसार अब एमालेमा सचिवालयको व्यवस्था खारेज हुनेभएको छ । विधानअनुसार ११औं महाधिवेशनबाट स्थायी कमिटी १५ सदस्यीय, पोलिटब्युरो ९९ र केन्द्रीय सदस्य २ सय ५१ जना हुने व्यवस्था गरेको छ । यस्तै, पार्टीको सदस्यता पनि साधारण र संगठित गरी दुई प्रकारको रहने व्यवस्था गरिएको छ ।
अध्यक्ष ओलीले महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक, संशोधित विधान मस्यौदाका साथै आयोगहरूका विभिन्न प्रतिवेदन ध्वनि मतका साथ बहुमतले पारित भएको हो । समापनसत्रमा बोल्दै अध्यक्ष ओलीले प्रतिवेदनको व्यवस्थामा सहमत भए पारित गर्न भनेका थिए । लगतै हलमा सहभागीहरूले ताली बजाएर पारित गरेका हुन् ।
ओलीको विकल्प खोज्न चाहेनन् अधिकांश टोलीले
शनिबार १० वटा समूह बनाएर छलफल गरेका समूहका टोली नेताले आइतबार समूहगत छलफलमा आएका सुझावहरू प्रस्तुत गरे । केही समूहले विधान महाधिवेशनबाट ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष भन्दै विकल्प नभएको सुझावसमेत पेस गरे ।
११औं महाधिवेशनबाट केन्द्रीय कमिटीको चयन हुने भए पनि अहिलेदेखि नै एमाले नेताले ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षको विकल्प नभएको भन्दै स्वीकार गर्न थालेका छन् ।
सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष सुनाए । यस्तै, कर्णाली प्रदेशका अध्यक्ष तथा समूहका नेता गुलाबजंग शाहले ‘ओलीलाई अहिले नेतृत्वलाई थप स्थापित गर्ने समय’ रहेको निष्कर्ष महाधिवेशनमा राखे ।
लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने बताए । यसका लागि पार्टी एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पनि नेतृत्वमा ओलीको विकल्प देखेनन् ।
गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहका नेता मीनप्रसाद गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई गन्तव्यमा पु¥याउन प्रतिवेदनहरूले प्रस्ट दिशा निर्देशन गरेको बताए । बागमती प्रदेशका अध्यक्ष तथा समूहका नेता कैलाश ढुंगेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनुपर्छ भन्ने विधान संशोधनलाई अधिकांशले समर्थन गरेको जनाएका छन् । केही मत हटाउनुहुँदैन भन्ने सुझाव आएको पनि उनले बताए ।
मधेश प्रदेशका अध्यक्ष तथा समूहका नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट ओलीलाई नै पार्टीको नेतृत्व दिनुपर्ने सुझाव आफ्नो समूहमा आएको बताए । मधेशले पार्टी नेतृत्वमा ओलीको विकल्प नदेखिएको बताउँदै उनले नेतृत्वमा स्थापित गर्नुपर्ने सुझाव आएको बताए ।
कोशी प्रदेशका अध्यक्ष तथा समूहका नेता घनश्याम खतिवडाले विधान संशोधनमा ७० वर्षे उमेर हद र पदाधिकारीमा दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गर्दै नेतृत्वमा ओलीको विकल्प नदेखिएको बताए ।
साथै राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई दैनिक राजनीतिमा नफर्किने कुरा पार्टीको विधान र संविधानमै लेखिनुपर्ने सुझावसमेत आएको खतिवडाले जनाएका छन् ।
विद्याको सदस्यता अब केन्द्रीय कमिटीमा
विधान महाधिवेशनले पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता बहसकये च्याप्टर क्लोज गरे पनि अध्यक्ष ओलीले आगामी केन्दीय कमिटी बैठकमा सदस्यताका विषयमा छलफल हुने बताएका छन् । कतिपय प्रतिनिधि उनको सदस्यता होल्ड गर्ने निर्णयबाट असन्तुष्ट सुनिएपछि अध्यक्ष ओलीले अब बस्ने केन्द्रीय कमिटी बैठकमा यो विषयमा छलफल गरेर टुंगोमा पुग्ने बचन दिएका हुन् ।
एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हुनुपर्ने आवाज उठ्दै आएको थियो । केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण गर्न नमिल्ने भन्दै होल्डमा राखेको थियो ।पूर्वराष्ट्रपति भइसकेकी भण्डारी सम्मानित ठाउँमा बस्नुपर्ने भन्दै उनको सदस्यता नवीकरण रोकिएपछि विधान महाधिवेशनमा उठाउने र पार्टीको विधानमा संशोधन गर्ने आवाज उनीनिकट नेताहरूले गर्दैआएका थिए ।
तर, महाधिवेशनमा सहभागी प्रतिनिधिले उनको सदस्यता नवीकरण’bout जोडदार आवाज उठाएनन् । उनको सदस्यता नवीकरण गर्नुहुँदैन भन्ने सुझाव १० वटै समूहमा जोडदार रूपमा आयो । ७० वर्षे उमेर हदम्याद र दुई कार्यकाल पदाधिकारीको व्यवस्था विधानमा राख्नुपर्ने भण्डारी समूहको अडान महाधिवेशनले अस्वीकार ग¥यो ।
निर्वाचन आयोगमा पुनः सुब्बा
महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा पुनः डा. विजय सुब्बालाई दोहो-याएको छ । आयोगको उपाध्यक्षमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामासहित सिंगो कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।